चितवन। चितवनको भरतपुर अस्पतालमा सेवा लिन आउने बिरामीको संख्या बढेको छ।
गत साउन १ गतेबाट स्वास्थ्य बीमाका बिरामीले उपचारका लागि आउँदा रेफर लिन नपर्ने व्यवस्था लागू भएपछि भरतपुर अस्पतालमा बिरामीको चाप बढेको हो।
भरतपुर अस्पतालका मेसु प्राडा कृष्णप्रसाद पौडेलले साउन १ गतेबाट स्वास्थ्य बीमा मार्फत उपचार गर्नका लागि रेफर लिन नपर्ने भएपछि अस्पतालमा बिरामीको चाप झनै बढेको हो। अहिले अस्पतालमा ७० प्रतिशत बिरामी बीमामार्फत उपचारका लागि आउने गरेका छन।
भरतपुर अस्पतालमा नवलपरासी, नवलपुर, मकवानपुर, गोरखा, धादिङ, लमजुङ, पर्सा लगायतका स्थानबाट बिरामीहरु उपचारका लागि आउने गरेका छन। यस्तै चितवनकै माडी र पर्साको ठोरीबाट पनि भरतपुर अस्पतालमा बिरामीहरू स्वास्थ्य जाँचका लागि नियमितरुपमा आउने गरेका छन।
अस्पतालका मेसु पौडेलले स्थानीय अस्पतालमै उपचार हुने किसिमका समस्या भए पनि धेरैजसो बिरामीहरू सोझै भरतपुर अस्पताल आउने गरेको बताउँछन। त्यसका कारण पनि अस्पतालमा पछिल्लो समय बिरामीको चाप बढेको उनको भनाइ छ।
`स्थानीय अस्पतालमै उपचार हुने किसिमका समस्या भए पनि धेरैजसो बिरामीहरू सोझै भरतपुर अस्पताल आउने गरेका छन, जसले गर्दा अस्पतालमा पछिल्लो समय बिरामीको चाप बढेको छ, साउन सुरुभए यता दैनिक ओपीडी सेवा लिनेको संख्या औसतमा दुई हजार हाराहारी छ।´ मेसु पौडेलले भने।
भरतपुर अस्पताल चितवनमा भरपर्दो उपचार सेवा प्रदान गर्ने पुरानो सरकारी अस्पतालका रुपमा परिचित छ।
विसं २०१३ सालमा ‘राप्ती दुन उपत्यका विकास समिति’ र अमेरिकी सरकारको संयुक्त प्रयासमा सामान्य स्वास्थ्य केन्द्रबाट सुरू भएको सो अस्पताल विसं २०२० सालमा ‘महेन्द्र आर्दश चिकित्सालय’को रुपमा नामकरण भएको थियो। वि.सं २०६२/०६३ को ऐतिहासिक जनआन्दोलनपछि अस्पतालको नाम महेन्द्र आदर्श चिकित्सालयबाट परिवर्तन भई भरतपुर अस्पताल भएको थियो।
विसं २०३९ सालमा ‘अस्पताल विकास तथा सहयोग समिति’को गठन भएसँगै अस्पतालमा स्थानीय र समुदायको संलग्नतामा संचालित छ। १५ शय्याबाट सुरु भएको अस्पताल विसं २०६७ सालमा ४१५ शय्या हुँदै हाल करिब ६ सय शय्या भब्दा बढीमा संचालित छ।



