काभ्रेपलान्चोक। काभ्रेपलान्चोकको महाभारत गाउँपालिका–१ गोकुलेकी एक गर्भवतीको मङ्गलबार हेलिकप्टरबाट उद्धार गरिएको छ।
सोमबार साँझदेखि सुत्केरी बेथा लागेर स्थानीय स्वास्थ्यचौकीमा भर्ना भएकी २१ वर्षीया रेनुका लुङ्गेलीलाई राष्ट्रपति–महिला उत्थान कार्यक्रम उद्धार गरिएको हो। उद्धारपछि उनलाई काठमाडौँस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालमा भर्ना गरिएको छ।
गाउँपालिका अध्यक्ष कान्छालाल जिम्बाका अनुसार गोकुले स्वास्थ्यचौकीमा छटपटाइरहेको अवस्थामा उनलाई राष्ट्रपति महिला उद्धार कार्यक्रमको आर्थिक सहयोगमा हेलिकप्टरबाट उद्धार गरिएको हो। उनका अनुसार उद्धारपछि जोखिममा परेको आमा र शिशुको जीवन जोगिएको छ।
स्थानीय स्वास्थ्यचौकीकी प्रमुख पूर्णिमा तुम्सिङले उद्धारपछि उनको अवस्था सुधारोन्मुख रहेको जानकारी दिइन्।
यसअघि गत शुक्रबार दिउँसो महाभारत–७ बनखुकी गर्भवती २८ वर्षीया देवकुमारी पाख्रिनको समेत हेलिकप्टरमार्फत नै उद्धार गरिएको थियो।
महाभारत गाउँपालिकामा अधिकांश सडक कच्ची हुँदा सुत्केरी अवस्थाका महिलाहरू समस्यामा पर्ने गरेका छन्। वर्षाका कारण यी सडकमा नियमित रूपमा सवारीसाधन सञ्चालन हुने अवस्था नभएकाले हेलिकप्टरबाट गर्भवतीको उद्धार गर्नुपर्ने बाध्यता छ।
पालिका अध्यक्ष जिम्बाले दुर्गम क्षेत्रमा राष्ट्रपति–महिला उत्थान कार्यक्रम प्रभावकारी बनेको बताउँदै ग्रामीण भेगका धेरै महिला त्यसबाट लाभान्वित भएका जानकारी दिए।



