बुधवार, आश्विन २८ गते २०८३    

बुधवार, आश्विन २८ गते २०८३    

दैनिक ८ सय बढी बिरामीलाई सेवा दिंदै कागेश्वरी मनोहरा नगर अस्पताल, निजी अस्पताल भन्दा स्तरीय सेवा

दैनिक ८ सय बढी बिरामीलाई सेवा दिंदै कागेश्वरी मनोहरा नगर अस्पताल, निजी अस्पताल भन्दा स्तरीय सेवा

images
२०८२ श्रावण १३ गते, मंगलवार
२०८२ श्रावण १३ गते, मंगलवार
  • काठमाडौं। काठमाडौंको उत्तरपुर्वी क्षेत्रमा अवस्थित कागेश्वरी मनोहरा नगर अस्पतालले दैनिक ८ सय भन्दा बढी सेवाग्राहीलाई स्वास्थ्य सेवा उपलब्ध गराउँदै आएको छ। सो अस्पतालले निजी अस्पताल सरह सेवा सुविधा उपलब्ध गराउने भएपछि पछिल्लो समय सेवाग्राहीको संख्या बढ्दो छ।

    images

    स्वास्थ्य बीमाको प्रथम सेवा बिन्दुका रुपमासमेत रहेको सो अस्पतालले बीमा सेवा सुरुवात गरेदेखि झनै सेवाग्राही बढेका छन। अस्पतालले हाल १९ भन्दा बढी विशेषज्ञ सेवा उपलब्ध गराउँदै आएको छ।

    images

    कागेश्वरी मनोहरा नगरपालिकाका नगरप्रमुख उपेन्द्र कार्कीले अस्पतालले १९ भन्दा बढी सेवा प्रदान गर्दै आइरहेको बताए।

    `ईमरजेन्सी,  ईन्टरनल मेडिसिन,  बालरोग, मानसिक स्वास्थ्य परामर्श, नाक, कान, घाँटी) लगायतका गरेर १९ भन्दा बढी सेवा प्रदान गर्दै आएका छौं, दोस्रो स्थानीय तहको निर्वाचनपछि अस्पतालले प्रदान गर्ने सेवा बढेसँगै बिरामीको पहुँच पनि बढेको छ, सेवा पनि प्रभावकारी रुपमा प्रदान हुँदै आइरहेको छ।´ नगरप्रमुख कार्कीले भने।

    अस्पतालका कार्यकारी निर्देशक रामप्रसाद पौडेलले अस्पतालले स्थानीय नागरिकलाई निजी अस्पताल भन्दा स्तरीय सेवा उपलब्ध गराउँदै आइरहेको बताए। सोही कारण अस्पतालप्रतिको भरोसा र विश्वाससमेत स्थानीयमा बढेको उनले जानकारी दिए।

    `हाल अस्पतालबाट हामीले आधारभुत स्वास्थ्य सेवा प्रदान गर्दै आइरहेका छौं, प्राइभेट भन्दा राम्रो तथा स्तरीय सेवा दिएका कारण स्थानीयको भरोसा र विश्वाससमेत बढ्दो छ।´ पौडेलले एक्सरे नेपालसँग भने।

    पौडेलले स्वास्थ्य बीमाको प्रथम सेवा विन्दुका रुपमा रहेको भएर पनि अस्पतालबाट रेफर हुने बिरामीको संख्या कम हुने गरेको बताए।

    `कागेश्वरी मनोहरा नगर अस्पताल प्रथम सेवा विन्दु तोकिएको अस्पताल हो, यहाँ आएका बिरामीलाई हत्तपत्त रेफर गरिहाल्नु पर्दैन, हामीसँग त भर्ना गरेरै उपचार गर्ने क्षमता छ, आवश्यक परेमा अन्यत्र दैनिक ४/५ जनालाई मात्रै रेफर गर्ने गरेका छौं, आवश्यक नपरे गर्दैनौं।´ पौडेलले थपे।

    सो अस्पतालमा १९४ जना कुल जनशक्ति छ। दैनिक ८ देखि ८५० भदा बढीसम्म ओपिडी टिकट काटिने गरेको कार्यकारी निर्देशक पौडेल बताउँछन। 

    उनका अनुसार अस्पतालले १५ बेड क्षमतामा संचालनको अनुमति पाएपनि ३० देखि ३५ बेड संचालन हुँदै आइरहेको छ। यस्तै एमर्जेन्सी बेड मात्र १२ बेड संचालनमा रहँदै आइरहेको छ।

    हाल सो अस्पतालले बागमती प्रदेश सरकारबाट ५० बेड को संचालन अनुमति पाइसकेको छ। कार्यकारी निर्देशक पौडेलले अघि भने, `हाम्रो आफ्नै जनशक्ति र क्षमताले हामी चलाउछौं भनेर भनेका छौं, आन्तरिक आम्दानी र नगरपालिकाको सहयोग पनि प्राप्त गरेका छौं।´ 

    हाल अस्पतालमा ईमरजेन्सी,  ईन्टरनल मेडिसिन, बालरोग, मानसिक स्वास्थ्य परामर्श, कान, नाक, घाँटी, हाड तथा जोर्नी, दन्त सेवा, फिजियोथेरापी, अल्ट्रासाउन्ड, अत्याधुनिक ल्याब सेवा आँखा उपचार लगायतका सेवा उपलब्ध छन।

    कार्यकारी निर्देशक पौडेल अस्पतालमार्फत आगामी दिनमा शल्यक्रिया कक्ष र अक्सिजन प्लान्टको क्षमता विस्तार गर्दै अझ धेरै नागरिकलाई उच्चस्तरीय सेवा पुर्‍याउने लक्ष्य लिइएको बताउँछन।

    `अक्सिजन प्लान्टको सुरुवात गर्ने विषय योजनामा छ, कार्यपालिकासँग वजेट मागेका छौं, ओटी, हेमोडाइलासिस पनि प्लानमा परेको छ, ओटीको एकदमै माग भएको छ, प्रेसरलाई थेग्न ओटीको आवश्यकता छ।´ पौडेलले भने।

    विसं २०५१ सालमा उपस्वास्थ्य चौकीका रुपमा स्थापना भएको सो अस्पताल २०५३ सालमा मुलपानी प्राथमिक स्वास्थ्य केन्द्रका रुपमा परिणत भएको थियो भने २०७६ सालमा सो अस्पताल १५ शय्याको आधारभूत अस्पतालका रुपमा स्तरोन्नति भएको थियो।

     

     

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend