पोखरा। गण्डकी प्रदेशमा असार पछि डेङ्गी रोगको संक्रमण बढेको पाइएको छ।
गण्डकी प्रदेशमा वर्षायाम सुरु भएसँगै डेङ्गी सङ्क्रमण बढ्दै गएको प्रदेशस्थित स्वास्थ्य मन्त्रालयले जनाएको हो। जसअनुसार गत जेठमा १६९ जनामा संक्रमण देखिएकोमा असार लागेपछि हालसम्म १८५ जनामा सङ्क्रमण पुष्टि भएको छ।
पुस महिना यताको तथ्यांक हेर्न्र हो भने हालसम्म ६०९ जनामा डेङ्गी सङ्क्रमण पुष्टि भएको गण्डकी प्रदेश स्वास्थ्य मन्त्रालयको तथ्यांक छ। यो तथ्यांक विश्लेषण गर्दा पुस यता ६ महिनामा भन्दा असार यताको समयावधिमा संक्रमितको संख्या ह्वात्तै बढेको देखिन्छ।
कुन जिल्लामा कति छन संक्रमित?
गण्डकी स्वास्थ्य मन्त्रालयका अनुसार सो प्रदेशमा सबैभन्दा बढी कास्कीमा ३०७, तनहुँमा १०१, लमजुङ ७७, गोरखा ४६, स्याङ्जा २८, बागलुङ १९, पर्वत १७, म्याग्दी १० र नवलपुरमा ४ जनामा डेङ्गी सङ्क्रण पुष्टि भएको छ। मुस्ताङ र मनाङमा भने डेङ्गीका बिरामी भेटिएका छैनन्।
कास्कीमा सङ्क्रमण पुष्टि भएका ३०७ मध्ये १०३ जना पोखरा महानगरपालिकाका छन्। प्रदेशभरमा हालसम्म पुष्टि भएका डेङ्गीका बिरामीमध्ये झण्डै आधा पोखरा महानगरपालिकामा भेटिएका हुन्। स्वास्थ्य मन्त्रालयले कार्तिकसम्म डेङ्गी सङ्क्रमण बढ्ने जोखिम उच्च रहने मन्त्रालयको आँकलन छ।
गण्डकी प्रदेशका स्वास्थ्यमन्त्री कृष्णप्रसाद पाठकले डेङ्गी सङ्क्रमणको न्यूनीकरण, रोकथाम तथा व्यवस्थापनका लागि मन्त्रालय मातहतका सबै निकाय तयारी अवस्थामा रहेको बताए।
खोज्ने र नष्ट गर्ने अभियान
मन्त्रालयसहित सबै स्थानीय तहहरूले समुदायस्तरमा डेङ्गी फैलनबाट रोक्न डेङ्गी सार्ने लामखुट्टेको बासस्थान खोज्ने र नष्ट गर्ने अभियान सुरु गरेका छन्। अभियान अन्तर्गत देशभर लामखुट्टेको टोकाइबाट बच्न सचेतना जगाउने र अभिमुखीकरण गर्ने काम भइरहेको छ।
गतवर्ष पोखरा महानगरपालिकामा मात्र ८ हजार ६ सय जनाभन्दा बढीमा डेङ्गी सङ्क्रमण भएको थियो । डेङ्गी सङ्क्रमणबाट पोखराका तीन जनाको मृत्यु भएको थियो।
गतवर्षको भदौ पहिलो हप्तादेखि असोज पहिलो हप्तासम्ममा पोखरामा छ गुणाले डेङ्गी सङ्क्रण बढेको थियो।
जोगिन के गर्ने?
धवलागिरि प्रादेशिक अस्पतालका प्रमुख चिकित्सक डा किरण तिवारी डेङ्गीबाट बच्न लामखुट्टेको टोकाइबाट नै बच्नु पर्ने बताउँछन।
उनले डेंगी फैलाउने लामखुट्टको टोकाइबाट जोगिन आम नागरिक पनि सचेत हुनु पर्नेमा जोड दिए। घर, कार्यालय र सार्वजनिकस्थलमा रहेका खाल्डाखुल्डी, पुराना टायर, ड्रम, भाँडाकुँडालगायत स्थानमा पानी जम्मा हुन नदिने र त्यस्ता स्थल भेटिएमा नष्ट गर्नुपर्ने उनी सुझाउँछन। यसो गर्दा डेंगी संक्रमण फैलाउने लामखुट्टेबाट बच्न सकिने उनको भनाइ छ।
डेङ्गी रोग सार्ने ‘एडिस एजिप्टाई’ जातको पोथी लामखुट्टेको बासस्थान सबैभन्दा बढी पुराना टायरभित्र जमेको सफा पानीमा रहने गरेको उनी बताउँछन।
“सफा र जमेको पानीमा डेंगी फैलाउने लामखुट्टेले फुल पार्ने र लार्भा हुर्काउने गर्दछ। पुराना टायरभित्र जमेको सफा पानीमा, गमला, बोत्तलका बिर्को ड्रममा पानी जम्ने र खुला हुने गरि राख्नु भएन। लामखुट्टको सोही जीवनचक्र खल्बल्याउन बासस्थान खोज्ने र नष्ट गर्ने अभियान सञ्चालन गर्ने गरिएको हो”, उनले भने।
डेंगी भएपछि केके हुन सक्छ?
डेङ्गीको सङ्क्रमणपछि एक्कासि उच्च ज्वरो आउने, रक्तस्राव हुने, टाउको, शरीर दुख्नेजस्ता लक्षण देखापर्ने प्रादेशिक अस्पतालका प्रमुख चिकित्सक तिवारी बताउँछन।
कसैकसैलाई लक्षण नै नदेखी पनि संक्रमण हुन सक्छ। सङ्क्रमितले तुरुन्त परीक्षण गरी र आवश्यकता अनुसार उपचार सुरु गर्नुपर्ने डा तिवारीको भनाइ छ।
सङ्क्रमण जटिल बनेर मानिसको मृत्युसमेत हुनसक्ने भएकाले डेङ्गीलाई सामान्य रूपमा लिन नहुने उनको भनाइ छ। लामखुट्टेको टोकाइबाट बच्नु नै डेङ्गी नियन्त्रणको उत्तम उपाय भएको उनी सुझाउँछन।



