बुधवार, आश्विन २८ गते २०८३    

बुधवार, आश्विन २८ गते २०८३    

गृहमन्त्री लेखक र पर्यटनमन्त्री पाण्डेबीच मझगाउँ विमानस्थलबारे छलफल

गृहमन्त्री लेखक र पर्यटनमन्त्री पाण्डेबीच मझगाउँ विमानस्थलबारे छलफल

images
२०८२ श्रावण १० गते, शनिवार
२०८२ श्रावण १० गते, शनिवार
  • काठमाडौं। गृहमन्त्री रमेश लेखक र संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेबीच कञ्चनपुरको मझगाउँ विमानस्थल पुनःनिर्माण एवं स्तरोन्नतिका विषयमा छलफल भएको छ।

    images

    विसं २०५६ यता बन्द रहेको मझगाउँ विमानस्थलको पुनःनिर्माण गरी चाँडो पुनः सञ्चालनमा ल्याउने विषयमा मन्त्री लेखक र पाण्डेबीच गृह मन्त्रालयमा छलफल भएको हो। बैठकमा नागरिक उड्डयन प्राधिकरण, कर्पोरेट निर्देशनालयका उपमहानिर्देशक इञ्जिनीयर बाबुराम पौडेललगायतको सहभागिता थियो।

    images

    विमानस्थलको रन्वे निर्माण, टर्मिनल भवन निर्माण, विद्युत् विस्तारलगायतका विषयमा छलफल भएको गृहमन्त्रीको सचिवालयले जनाएको छ।

    “विमानस्थल पुनःनिर्माण चाँडो सक्ने र अस्थायी रुपमा सञ्चालन गर्ने विषयमा सरोकारवाल अधिकारीसहितको उपस्थितिमा छलफल भएको हो”, गृहमन्त्री लेखकका प्रमुख स्वकीय सचिव ईश्वरीप्रसाद जोशीले भने, “विमानस्थल पुनः सञ्चालन गृहमन्त्री लेखकको प्राथमिकता तथा निर्वाचनमा मतदातासामु गरेको प्रतिवद्धता पनि हो, त्यो पूरा हुने प्रक्रियामा छ।”

    मझगाउँ विमानस्थलको ७० प्रतिशत काम सम्पन्न भइसकेको छ। चालु आर्थिक वर्ष २०८२/८३ मा विमानस्थलमा टर्मिनल भवन निर्माणका लागि रु पाँच करोड र रनवे निर्माण गर्न रु १३ करोड ३० लाख बजेट सङ्घीय सरकारले विनियोजन गरेको छ। 

    “बजेटको सीमितताबीच मझगाउँ विमानस्थल पुनःनिर्माण गर्न राम्रै बजेट विनियोजन गरेका छौँ”, पर्यटनमन्त्री पाण्डेले भने, “विमानस्थल पुनः सञ्चालनलाई प्राथमिकतामा राखेर अघि बढेका छौंँ।”

    मझगाउँ विमानस्थलको दीर्घकालीन महत्व रहेको उल्लेख गर्दै गृहमन्त्री लेखकले पुनःनिर्माण र पुनःसञ्चालन गर्न अब ढिलाइ गर्न नहुने बताए।

    “सङ्घीय सरकारले विमानस्थलका लागि उचित बजेट सम्बोधन गरेको छ”, उनले भने, “प्रदेश र स्थानीय सरकारले पनि विमानस्थल पुनःनिर्माणमा साझेदारी गरेका कारण काम द्रुत गतिमा अघि बढेको छ।”

    कञ्चनपुर क्षेत्र नं ३ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य एवं गृहमन्त्री रमेश लेखककै पहलमा लामो समय गौचरनमा परिणत भएको मझगाउँ विमानस्थलले पुनःनिर्माणमा गति पाएको हो।

    “दक्षिणतर्फ नेपाली सेना र रत्न पाटिकाको जमिन विमानस्थलका लागि उपयोग गर्ने विषयमा विगतमा भएको विवाद समाधान भएर काम सुरु भइसकेको छ”, गृहमन्त्री लेखकले भने, “विद्युत् विस्तार र सुरक्षा प्रबन्धका लागि पनि पहल भइसकेको छ।”

    केही दिनअघि विमानस्थलको स्थलगत निरीक्षण अवलोकनका लागि मझगाउँ पुगेका गृहमन्त्री लेखकले विमानस्थल पुनःनिर्माणमा कुनै समस्या नहुने बताएका थिए।

    एक हजार ५ सय २५ मिटरको रनवे निर्माण गर्ने क्रममा नेपाली सेनाले एक सय ५० मिटर जमिन विमानस्थल विस्तारका लागि उपलब्ध गराइसकेको छ। रनवे निर्माण आगामी माघसम्म सक्ने गरी काम अघि बढेको मन्त्रालयले जनाएको छ।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend