हुप्सेकोट। स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले स्वास्थ्य बीमालाई ब्यवस्थित गर्ने काम भैरहेको बताएका छन।
पूर्वी नवलपरासीको हुप्सेकोट गाउँपालिकामा नवनिर्मित देउराली प्राथमिक अस्पतालको नवनिर्मित भवनको आइतबार उद्घाटन गर्न पुगेका मन्त्री पौडेलले स्वास्थ्य बीमालाई ब्यवस्थित बनाउन छरिएर रहेका बीमा सेवालाई एकत्रित गर्ने र व्यक्तिको आम्दानी तथा रोजगारको आधारमा राज्यलाई निश्चित रकम बिमा कोषमा योगदान गर्ने गरि ब्यवस्थित बनाउने तयारी भइरहेको बताएका हुन।
त्यसो गर्दा बिमामा रकम जम्मा गर्न नसक्ने नागरिकका लागि राज्यले जिम्मा लिने प्रणाली विकास गर्नुपर्ने उनले बताए।
‘स्वास्थ्य बीमालाई एकत्रित गर्ने र व्यक्तिको आम्दानी तथा रोजगारको आधारमा राज्यलाई निश्चित रकम बिमा कोषमा योगदान गर्ने गरि ब्यवस्थित बनाउने तयारी भइरहेको छ, आर्थिक रूपमा बिमा रकम भुक्तानी गर्न सक्षम र विपन्न नागरिकबीच एउटै प्रणाली राखेर हुँदैन।´ मन्त्री पौडेलले सम्बोधनका क्रममा भने।
उनले बीमा प्रणालीलाई सुधार गर्न राज्यको पनि लगानी आवश्यक हुने बताए। `बिमा प्रणालीलाई सुधार गर्नुपर्ने अवस्था आएको छ, राज्यले कम्तीमा पनि १० प्रतिशत बजेट स्वास्थ्यमा खर्च गर्नु पर्दछ।’ उनले अघि भने।
स्वास्थ्य बीमा वापतको बक्यौता रकम भदौ मसान्त सम्ममा भुक्तानी गर्ने प्रतिबद्धता ब्यक्त गर्दै पौडेलले बीमा बापत प्राप्त हुने रकमको केही प्रतिशत स्वास्थ्य संस्थाको वृद्धि विकासमा लगाउन पनि आग्रह गरे।
अस्पताल भवन उद्घाटन कार्यक्रममा आफ्नो धारणा राख्दै हुप्सेकोट गाउँपालिकी अध्यक्ष लक्ष्मीदेवी पाण्डेले अस्पतालको लागि सुविधा सम्पन्न प्रयोगशाला र आवश्यक उपकरणको प्रवन्ध भएपछि सामान्य उपचारका लागि सदरमुकाम र चितवन जानुपर्ने बाध्यता हटेको बताइन।
सो अस्पताल यसअघि पुरानो भवनबाट संचालन हुँदै आइरहेको थियो। पाँच शैयाको सो अस्पताल नयाँ भवनबाट संचालन भएपछि निकट भविष्यमा सेवा समेत थप गर्ने लक्ष्य लिइएको गाउँपालिका कार्यालयले जनाएको छ।



