बुधवार, आश्विन २८ गते २०८३    

बुधवार, आश्विन २८ गते २०८३    

कक्षा ११ र १२ को छात्रवृत्तिका लागि काठमाडौ महानगरको परीक्षा भोलि, १६ हजार १३७ विद्यार्थी सहभागी हुँदै

कक्षा ११ र १२ को छात्रवृत्तिका लागि काठमाडौ महानगरको परीक्षा भोलि, १६ हजार १३७ विद्यार्थी सहभागी हुँदै

images
२०८२ श्रावण २ गते, शुक्रवार
२०८२ श्रावण २ गते, शुक्रवार
  • काठमाडौं। काठमाडौं महानगरपालिकाले शैक्षिक सत्र २०८२/०८३ का लागि कक्षा ११ र १२ मा छात्रवृत्ति कोटामा अध्ययन गर्न इच्छुक विद्यार्थीहरूका लागि शनिबार परीक्षा लिंदैछ।

    images

    महानगरले प्रवेश परीक्षालाई निष्पक्ष, मर्यादित र व्यवस्थित बनाउन केन्द्राध्यक्षहरूलाई अभिमुखिकरण दिएको छ। महानगरले विगत तीन वर्षदेखि सञ्चालित छात्रवृत्ति कार्यक्रममार्फत आर्थिक रूपमा कमजोर तर शैक्षिक रूपमा सक्षम विद्यार्थीहरूलाई अवसर प्रदान गर्दै आएको छ।

    images

    यस वर्षको प्रवेश परीक्षाका लागि देशभरका ७७ जिल्लाबाट प्राप्त १७ हजार २२९ आवेदनमध्ये १६ हजार १३७ विद्यार्थी छनोट भएका छन। छनोट भएका विद्यार्थीहरूमा विज्ञान संकायका लागि ११ हजार ५९०, व्यवस्थापनका लागि ४ हजार १६४, मानविकीका लागि ३२, शिक्षाका लागि ९५ र कानुन संकायका लागि २५६ जना समावेश छन।

    छात्रवृत्ति प्रवेश परीक्षा भोलि शनिबार बिहान ८ बजे देखि १० बजेसम्म सञ्चालन हुनेछ। परीक्षा कक्षा १० को पाठ्यक्रममा आधारित हुनेछ। जसमा अनिवार्य गणित, विज्ञान र अंग्रेजीबाट ३०/३० प्रश्न र सामान्य ज्ञानबाट १० प्रश्न गरी कुल १०० बहुवैकल्पिक प्रश्नहरू सोधिनेछन्।

    उत्तीर्ण हुन न्यूनतम ४० प्रतिशत अंक आवश्यक हुनेछ भने गलत उत्तरका लागि नकारात्मक अंकन गरिने छैन। छनोट भएका विद्यार्थीहरूले साउन १ देखि महानगरको आधिकारिक वेबसाइट मार्फत प्रवेशपत्र डाउनलाेड गर्न सकिने छ।

    महानगरको शिक्षा विभागले परीक्षालाई व्यवस्थित र मर्यादित बनाउन केन्द्राध्यक्षहरूलाई अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको जनाएको छ।

    कार्यक्रममा शिक्षा विभागका निमित्त प्रमुख केशव ज्ञवाली र शिक्षा अधिकृत इन्द्रप्रसाद दाहालले परीक्षा सञ्चालन, सुरक्षा व्यवस्था, प्रश्नपत्रको गोप्यता, उत्तरपुस्तिका व्यवस्थापन र अनुशासनसम्बन्धी प्रस्तुतिकरण गरेका थिए।

    अभिमुखिकरणमा शहरी योजना आयोगका सदस्य, सहायक विज्ञ, शिक्षा विभागका कर्मचारी र परीक्षा केन्द्रका केन्द्राध्यक्षहरूको सहभागिता थियो।  

    अभिमुखिकरण सामग्रीमा केन्द्राध्यक्षहरूको जिम्मेवारी, परीक्षा व्यवस्थापन, सम्भावित चुनौतीहरूको समाधान र सुरक्षात्मक उपायहरू समेटिएका छन्। केन्द्राध्यक्षहरूले परीक्षा सुरु हुनुभन्दा एक घण्टा अगावै उपस्थित भई सिट योजना, प्रश्नपत्र र उत्तरपुस्तिकाको सुरक्षा, विद्यार्थी परिचय प्रमाणीकरण र अनुशासन कायम गर्नुपर्नेछ।

    प्रश्नपत्रको गोप्यता कायम राख्न कडा नियम लागू गरिएको छ भने कुनै अनियमितता भए तुरुन्त प्रतिवेदन बुझाउन निर्देशन दिइएको छ।  

    यस्ता छन् छात्रवृत्ति परीक्षामा उम्मेदवारले पालना गर्नुपर्ने नियमहरू :

    १. परीक्षामा प्रवेश गर्न प्रवेशपत्र अनिवार्य ल्याउनुपर्नेछ। प्रवेशपत्र बिना सहभागी हुन पाइने छैन। केन्द्राध्यक्ष वा निरीक्षकले मागेमा प्रवेशपत्र देखाउनुपर्नेछ।

    २. सुरक्षा जाँचका लागि परीक्षार्थीहरू परीक्षा सुरु हुनुभन्दा कम्तीमा एक घण्टा अगावै परीक्षा केन्द्रमा उपस्थित हुनुपर्नेछ। परीक्षा सुरु हुनु १५ मिनेटअघि सूचनापछि मात्र हलमा प्रवेश गर्न पाइने छ।

    ३. केन्द्राध्यक्षको निर्देशन पालना गरी तोकिएको स्थानमा बसी परीक्षा दिनुपर्नेछ। केन्द्राध्यक्ष, निजले तोकेको व्यक्ति वा निरीक्षण टोलीले जुनसुकै बेला खानतलासी गर्न सक्नेछ।

    ४. केन्द्राध्यक्षको अनुमति बिना परीक्षा हल वा भवन छाड्न पाइने छैन। महानगरपालिकाबाट सूचना नभएमा परीक्षा सर्ने छैन।

    ५. किताब, नोटबुक, गाइड, कापी, चिट, क्यालकुलेटर, मोबाइल फोन, ब्लुटुथ, आइप्याड, ट्याबलेट, हातहतियार, अवैध पदार्थ, विद्युतीय उपकरण, वालेट, पर्स वा घडी (स्मार्ट वाच) परीक्षा केन्द्रमा लैजान निषेध छ।

    ६. परीक्षा सुरु भएको १५ मिनेटपछि आउने परीक्षार्थीलाई हलमा प्रवेश दिइने छैन। परीक्षामा अनिवार्य हाजिरी गर्नुपर्नेछ।

    ७. कालो जेल पेन (Black Gel Pen) परीक्षार्थीले आफैं ल्याउनुपर्नेछ। OMR sheet मा सही उत्तर पूर्ण रूपमा भर्नुपर्नेछ। प्रश्नपत्रको "set" OMR sheet मा अनिवार्य लेख्नुपर्नेछ; नलेखेमा उत्तरपुस्तिका रद्द हुनेछ। सही उत्तरको A, B, C, D मा कालो पेनले बबल भर्नुपर्नेछ।

    ८. सिसाकलम प्रयोग गरेको, खुर्केको, केरमेट गरेको, च्यातिएको वा टिपेक्स लगाएको उत्तरलाई अंक दिइने छैन।

    ९. निर्धारित दुई घण्टा समय समाप्त भएपछि मात्र परीक्षार्थी हलबाट बाहिर जान पाउनेछन्। प्रश्नपत्र निरीक्षकलाई फिर्ता गर्नुपर्नेछ।

    १०. नक्कली परीक्षार्थी खडा गरेमा वा प्रयास गरेमा परीक्षा रद्द गरी कानुनअनुसार कारबाही गरिनेछ।

    ११. आपसमा कुराकानी वा संकेत गर्न निषेध छ। नक्कल गरेको पाइएमा नक्कल गर्ने र गर्न दिने दुवैलाई निष्कासित गरिनेछ।

    १२. परीक्षा मर्यादा विपरीत कार्य गरेमा, अनियमितता गरेमा, अर्को व्यक्तिले परीक्षा दिएमा, उत्तरपुस्तिका नबुझाई लगेमा वा च्यातेमा निष्कासन गरी कानुनअनुसार कारबाही गरिनेछ, र परीक्षा रद्द हुनेछ।

    १३. उत्तरपुस्तिका बुझाएर बाहिर गएपछि पुनः परीक्षा कोठामा प्रवेश गरी परीक्षा दिन पाइने छैन।

    १४. बिरामी परीक्षार्थीले परीक्षा दिँदा कुनै समस्या भए समिति जिम्मेवार हुने छैन।

    १५. उत्तरपुस्तिकामा तोकिएको स्थानबाहेक अन्यत्र लेखेमा वा संकेत गरेमा परीक्षा रद्द हुनेछ, र परीक्षाफल प्रकाशित हुने छैन।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend