पोखरा। रेडक्रसको अन्तर्राष्ट्रिय महासंघ आईएफआरसीको प्रतिनिधि मण्डल नेपाल रेडकस सोसाइटीबाट सञ्चालित प्रदेशस्तरीय गतिविधि र रक्तसञ्चार सेवाको अवलोकनका लागि गण्डकी प्रदेश पुगेको छ।
प्रतिनिधि मण्डलले नेपाल रेडकस सोसाइटी गण्डकी प्रदेश कार्यालय, गण्डकी प्रदेश स्वास्थ्य मन्त्रालय, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, प्रदेश स्तरीय रक्तसञ्चार सेवा केन्द्र पोखरा, पोखरा महानगरपालिका कार्यालय, फिस्टेल हस्पिटल गैरापाटन, नेपाल रेडक्रस सोसाइटी कास्की शाखाको अवलोकनका साथै त्यहाँका प्रतिनिधिहरूसँग अन्तरक्रिया गरेको हो।
प्रतिनिधि मण्डलमा आईएफआरसी नेपाल कार्यालय प्रमुख डेभिड फिसर र आईएफआरसी नेपाल कार्यालयका रश्मी झा, आईएफआरसी जेनेभा (ग्यापका)का प्रतिनिधि डाक्टर एलिजाबेथ भिलेनी र डाक्टर सोरया अमर थिए।
अन्तरक्रियाका क्रममा नेपाल रेडक्रस सोसाइटीबाट सञ्चालित रक्तसञ्चार सेवा, रक्तसंचार सेवाका गतिविधि र रक्ततत्वको गुणस्तरको बारे चासो राखिएको थियो। सो क्रममा सुधार गर्नुपर्ने पक्षका बारेमा सरोकारवालाहरूसँग छलफल र अन्तरक्रिया गरिएको थियो ।



