काठमाडौं।काठमाडौं महानगरपालिकाले कक्षा ११ र १२ मा संस्थागत विद्यालयहरूमा छात्रवृत्ति कोटामा अध्ययन गर्न चाहने विद्यार्थीहरूका लागि आवेदन माग गरेकोमा १७ हजार २२९ आवेदन परेको छ।
शैक्षिक सत्र २०८२/०८३ का लागि कक्षा ११ र १२ मा संस्थागत विद्यालयहरूमा छात्रवृत्ति कोटामा अध्ययन गर्न चाहने विद्यार्थीहरूका लागि आवेदन माग गरिएकोमा १७ हजार २२९ आवेदन प्राप्त भएको महानगरपालिकाले जनाएको छ।
उक्त आवेदन प्रक्रियामा देशभरका ७७ वटै जिल्लाबाट प्रतिनिधित्व भएको छ। महानगरका शिक्षा विभागका शिक्षा अधिकृत लक्ष्मी पौडेलका अनुसार आवेदन दिने विद्यार्थीहरूमा विज्ञान विषयमा १२ हजार ३३७, व्यवस्थापन विषयमा ४ हजार ४८१, मानविकी विषयमा ३४, शिक्षा विषयमा १०४ र कानुन विषयमा २७३ जनाले आवेदन दिएका छन।
यो तथ्यांकले विज्ञान विषयप्रति विद्यार्थीहरूको उच्च आकर्षण देखाएको काठमाडौं महानगरपालिकाले बताएको छ। जुन कुल आवेदनको झन्डै ७१% हो।
हाल सबै प्राप्त आवेदनहरूको रुजु कार्य तीव्र गतिमा भइरहेको छ। यो प्रक्रिया असार ३२ गते बिहानसम्म सम्पन्न हुने र त्यसपछि बाँकी प्रक्रियाहरू पूरा गरी साउन १ गते देखि विद्यार्थीहरूले अनलाइनमार्फत प्रवेश पत्र डाउनलोड गर्न सक्ने छन।
प्रवेश पत्र डाउनलोड गर्न काठमाडौं महानगरपालिकाको आधिकारिक वेबसाइट www.kathmandu.gov.np वा https://entrance.kathmandu.gov.np/ मा गएर “एडमिट कार्ड“ बटनमार्फत आवश्यक विवरण भरेर प्राप्त गर्न सकिनेछ। प्रवेश पत्रमा परीक्षा केन्द्रसम्बन्धी जानकारी पनि उल्लेख हुनेछ।
छात्रवृत्ति परीक्षा साउन ३ गते बिहान ८ बजेदेखि १० बजेसम्म सञ्चालन हुनेछ। परीक्षा कक्षा १० को पाठ्यक्रममा आधारित हुनेछ। जसमा अनिवार्य गणित, विज्ञान र अंग्रेजी विषयबाट ३०/३० प्रश्न र सामान्य ज्ञानबाट १० प्रश्न सोधिनेछ।
सबै प्रश्नहरू बहुवैकल्पिक प्रकारका हुनेछन्। परीक्षा उत्तीर्ण गर्न न्यूनतम ४० प्रतिशत अंक प्राप्त गर्नुपर्नेछ र गलत उत्तरका लागि नकारात्मक अंकन (नेगेटिभ मार्किङ) गरिने छैन।
परीक्षापछि मेरिट सूचीका आधारमा छात्रवृत्ति प्रदान गरिनेछ। यो छात्रवृत्ति कार्यक्रमले आर्थिक रूपमा विपन्न तर जेहेन्दार विद्यार्थीहरूलाई विद्यालय शिक्षाको अन्तिम तह (कक्षा ११, १२) छानेको शिक्षण सस्थाबाट प्राप्त गर्ने अवसर प्रदान गर्ने लक्ष्य राखेको छ।
काठमाडौं महानगरपालिकाले यो कार्यक्रममार्फत गुणस्तरीय शिक्षालाई पहुँचयोग्य बनाउन र विद्यार्थीहरूको शैक्षिक भविष्यलाई उज्ज्वल बनाउन प्रयास गरिरहेको शिक्षा विभागका निमित्त विभागीय प्रमुख केशव ज्ञवालीले जानकारी दिए।



