ललितपुर। ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले आफ्नो कार्यकालमा नगरवासीका लागि उदाहरणीय कामको अर्को किल्ला गाडेका छन। निर्विवाद नगर प्रमुखका रुपमा चिनिने ललितपुर महानगरका प्रमुख महर्जनले महानगरका नागरिकको स्वास्थ्य प्रति अभिभावकत्व प्रदान गर्ने निर्णय गरेका हुन।
निर्णय अनुसार ललितपुर महानगरले महानगरबासीको स्वास्थ्य बीमाको ४० प्रतिशत प्रिमियम आफैं तिरिदिने भएको हो। स्वास्थ्य पहिला भन्ने नीति सहित महर्जनले नगरवासीको स्वास्थ्यका सवालमा यो निर्णय लिएको उनको सचिवालय बताउँछ।
सो बारे ललितपुर महानगर र राष्ट्रिय बीमा बोर्डबिच बुधबार प्रिमियम तिर्ने सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको हो। महानगर प्रमुख महर्जन र बीमा बोर्डका कार्यकारी निर्देशक रघुराज काफ्लेले संयुक्त रूपमा समझदारी पत्रमा हस्ताक्षर गरे।
समझदारीमा नगर प्रहरी, महानगरका सरसफाईकर्मी, सवारीचालक र महानगरमा बसोबास गर्ने एकल महिला र टोल स्वास्थ्य उत्प्रेरक (टिएचपी)को भने शतप्रतिशत नै प्रिमियम तिर्ने महानगरले जनाएको छ। सम्झौतापछि बोर्डलाई आवश्यक रकमको चेक समेत हस्तान्तरण गरिएको थियो।
ललितपुर महानगरले पाटन अस्पतालसँगको प्राविधिक सहयोगमा स्वास्थ्य बीमा कार्यक्रम दुई वर्ष अघिबाट सुरु गर्दै आएको छ। नगरवासीले स्वास्थ्य केन्द्र मार्फत बिमा कार्यक्रमको प्रथम सेवा केन्द्रबाट प्राप्त हुने स्वास्थ्य सेवा लिइरहेका छन्।
ललितपुर महानगरका प्रमुख महर्जनले पाटन अस्पतालसँग सहकार्य गरेर महानगरको स्वास्थ्य क्षेत्रमा नयाँ र नौलो काम गरिएको बताए। महानगरवासीलाई प्रदान गर्ने स्वास्थ्य सेवाको प्रस्थान विन्दु भएको समेत उनले बताए।
महर्जनले कोरोनाका समयमा पनि पाटन अस्पतालसँग सहकार्य भएको स्मरण गर्दै अक्सिजन प्लान्ट स्थापना गर्दाको पलको सम्झना समेत गरे। उनले सहयोग र सेवाका लागि अस्पताललाई धन्यवाद समेत दिए।
महानगर प्रवक्ता राजु महर्जनले महानगरबासीको स्वास्थ्यप्रति महानगर संवेदनशील भएको बताउँदै प्रिमियम तिर्ने महानगर पहिलो स्थानीय तह भएको बताए।
पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक रवि शाक्यले स्वास्थ्य बीमा कार्यक्रममा समेटिएका नागरिकको ४० प्रतिशत प्रिमियम तिर्ने निर्णय महत्त्वपूर्ण भएको बताए। उनले अस्पतालसँगको सहकार्यका लागि महानगरलाई धन्यवाद समेत दिए।
राष्ट्रिय बीमा बोर्डका कार्यकारी निर्देशक काफ्लेले बीमा कार्यक्रमभित्र समेटिएका नागरिकको ४० प्रतिशत बीमा गरेर महानगर आफ्ना नागरिकको स्वास्थ्यप्रति संवेदनशीलता प्रदर्शन गरेको बताए। उनले बीमामा सबैको अपनत्त्व हुन सके कार्यक्रम उत्कृष्ट हुने धारणा राखे।
‘यो अन्य ७५२ स्थानीय तहको लागि अनुकरणीय काम हो, सबैले बीमामा अपनत्व लिए स्वास्थ्य बीमा बलियो हुन्छ, कार्यक्रम सफल हुन्छ, सबैको योगदान जरुरी छ।´ काफ्लेले भने।



