थानकोट। चन्द्रागिरि नगरपालिका-०४ थानकोटस्थित नगर प्राथमिक अस्पतालमा डायलासिस सेवा विस्तार हुने भएको छ।
लायन्स क्लब अफ चन्द्रागिरि, लायन्स क्लब अफ चन्द्रागिरि नर्थ र लायन्स क्लब अफ काठमाडौं ग्लोबल लगायतका संस्थाहरूले अस्पताललाई डायलासिस मेसिन उपलब्ध गराएपछि सेवा विस्तार हुने भएको हो।
करिब १ करोड ७८ लाख रुपैंयाको लागतमा ७ वटा डायलासिस उपकरण राखिएसँगै नगर अस्पतालमा डायलसीस सेवा सुरु हुने भएको हो। ती उपकरण गत साता लायन्सका प्रतिनिधिहरूले चन्द्रागिरिका नगरप्रमुख घनश्याम गिरीलाई हस्तान्तरण गरेका थिए।
नगरप्रमुख घनश्याम गिरीले प्राविधिक प्रक्रिया पूरा गरेर अस्पतालमा डायलासिस सेवा नियमित रुपमा संचालन गरिने नगरप्रमुख गिरिले बताए।
हाल चन्द्रागिरि नगर अस्पतालमा १५ शैया सञ्चालनमा छन भने, प्रयोगशाला, २४सै घण्टा आकस्मिक कक्ष सेवासहित बर्थिङ सेवा, विभिन्न रोगका विशेषज्ञ सेवा उपलब्ध छ।
नगर अस्पतालको क्षमता वृद्धि गर्न हाल सो स्थानमा नयाँ भवन निर्माण भइरहेको छ भने अस्पताल हाता नजिकै जर्मन सरकारको आर्थिक एवं प्राविधिक सहयोगमा करिब एक अर्बमा लागतमा परोपकार प्रसुति एवं स्त्रीरोग अस्पताल निर्माण गर्ने तयारी छ।
बागमती प्रदेशका तत्कालीन मुख्यमन्त्री डोरमणि पाैडेलले २०७८ बैशाख २८ गते चन्द्रागिरि नगर प्राथमिक अस्पतालको उद्घाटन गरेका थिए।



