कास्की। कास्कीको मादी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२।०८३ को लागि सार्वजनिक गरेको नीति तथा कार्यक्रममा तेस्रो बच्चा जन्माउने परिवारलाई प्रोत्साहन गर्ने कार्यक्रम ल्याएको छ।
गाउँपालिका अध्यक्ष देवीजंग गुरुङले मंगलबार गाउँ सभामा प्रस्तुत गरेको नीति तथा कार्यक्रममा घट्दो जनसंख्या बढाउन प्रोत्साहन गर्ने कार्यक्रम ल्याइएको हो। जनसंख्यामा ऋणात्मक समस्या अहिले देशकै कुल जनसंख्याको तथ्यांकमा देखिएको छ।
गाउँपालिकामा बढ्दै गएको न्यून जन्मदर र ऋणात्मक जनसङ्ख्या वृद्धिदरलाई धनात्मक बनाउन यस्तो कार्यक्रम ल्याइएको नीति तथा कार्यक्रममा उल्लेख छ। यो कार्यक्रम गाउँपालिकाको स्थायी नागरिकमा मात्र कार्यान्वयन हुने नीति तथा कार्यक्रममा उल्लेख छ।
तेस्रो सन्तान जन्मिए लगत्तै बैंक खाता खोलेर ५० हजार रुपैयाँ नगद जम्मा गरिदिने नीति तथा कार्यक्रममार्फत पालिकाले घोषणा गरेको हो। त्यसका लागि सन्तान जन्मिएपछि बैंकमा रकम प्राप्त गर्न खाता खोल्नु पर्छ। त्यसपछि वडा सचिव र वडाध्यक्षको सिफारिस लिएर पालिकामा रकम प्राप्त गर्न निवेदन दिनु पर्छ। सो रकम शिशुले बालिग भएर मात्रै निकासा लिन मिल्छ।
‘मादीमा स्थायी बसोबास भएका, अन्यत्र स्थायी बसोबास नभएका तथा आवधिक रूपमा पनि लामो समय अन्यत्र अस्थायी रूपमा बसोबास नगरी बसाइसराईं समेत नगरेका शुद्ध मादी गाउँपालिकाबासी दम्पतीहरूले २ भन्दा बढी सन्तान जन्माएमा नवजात शिशुको बैंकमा खाता खोली ५० हजार रुपैयाँ जम्मा गर्ने व्यवस्था मिलाइने छ,’ नीति तथा कार्यक्रममा भनिएको छ।



