किमाथाङ्का। सङ्खुवासभामा ५० शैयाको जिल्ला अस्पताल भवनको निर्माण पूरा भएको छ। निर्माण सकिएसँगै अब सेवाग्राहीले नयाँ भवनबाट सेवा पाउने छन।
सघन सहरी तथा भवन निर्माण आयोजना धनकुटाले नव निर्मित जिल्ला अस्पताल भवन सोमबार हस्तान्तरण गरेको हो। अस्पताल निर्माणका लागि विसं २०७५ असार २२ गते स्वामीनारायण आशीर्वाद जेभि सुनसरीसँग ठेक्का सम्झौता भएको थियो।
नव निर्मित भवन अत्याधुनिक भएकाले सेवा प्रवाहमा सहजता हुने अपेक्षा गरिएको छ। भवन हस्तान्तरण कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख तथा अस्पताल विकास समितिका अध्यक्ष सुमन शाक्यले अब नयाँ भवनबाट सेवा सञ्चालन हुने बताए।
उनले पुरानो भवनबाट नयाँ भवनमा सरेपछि जिल्ला अस्पतालमा पाइने सबै सेवा सेवाग्राहीलाई प्रदान गरिने बताए। अस्पतालमा हार्डजोर्नी विशेषज्ञ सेवा, बालरोग, सामान्य शल्यक्रिया, फिजियोथेरापी, प्रसूतिलगायतका सेवा सञ्चालनमा छन्।
सो अस्पताल भवन करिब २७ करोड २७ लाख ८० हजार सात सय २३ रुपैयाँमा निर्माण सम्पन्न भएको सघन सहरी तथा भवन निर्माण आयोजनाका प्रमुख सुमनकुमार मिश्रले जानकारी दिए।
भवन हस्तान्तरण भएपछि सङ्खुवासभा अस्पतालका तीन वटा सुविधा सम्पन्न ब्लक सञ्चालनमा आएको आयोजना प्रमुख मिश्रले बताए।
जिल्ला अस्पतालमा सङ्खुवासभाका १० वटा स्थानीय तहका मात्रै नभएर छिमेकी जिल्ला भोजपुरका आधाभन्दा बढी भागका सेवाग्राही जिल्ला अस्पताल आउने गरेका छन् ।
यसअघि समयमा जिल्ला अस्पताल भवन सम्पन्न नहुँदा २०३३ सालमा निर्माण भएको पुरानो भवनको प्यासेज र भुइँमा बिरामीको उपचार हुँदै आएको थियो। अस्पतालमा दैनिक तीन सय बढी सेवाग्राही उपचारका लागि आउँने गरेका छन।



