काठमाडौं। प्रदेश अस्पताल सुर्खेतका लेखा अधिकृतसहित तीन जनाविरुद्ध विशेष अदालत काठमाडौमा मुद्दा दायर भएको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रदेश अस्पताल सुर्खेतका लेखा अधिकृतसहित तीन जना विरुद्ध आइतबार मुद्दा दर्ता गरेको हो।
अस्पतालका लेखा अधिकृत शंकरप्रसाद सुवेदी र करारमा कार्यरत तृप्ति शाही ठकुरीविरुद्ध २५ लाख ६७ हजार ५२६ रुपैयाँ हिनामिना गरेको आरोपमा विषेश अदालतमा मुद्दा दर्ता भएको हो।
उनीहरूले अस्पतालको बिलिङ काउन्टरमा संकलित रकम बैंकमा दाखिला नगरी हिनामिना गरेको भनिएको छ। दायर मुद्दामा उनीहरु दुवैसँग सो रकम बराबरको बिगो मागदाबी गरिएको अख्तियारका प्रवक्ता राजेन्द्रकुमार पौडेलले जानकारी दिए।
यसैगरी सोही मुद्दामा कुमारी बैंकका एक्सटेन्सन काउन्टरका तत्कालीन इन्चार्ज गोमा सिँजाली मगरविरुद्ध पनि समान बिगो माग दाबी गरिएको अख्तियारका प्रवक्ता पौडेलले जानकारी दिएका हुन।



