काठमाडौ। सरकारले तनहुँको आँबुखैरेनीमा ट्रमा सेन्टरसहितको १५ शय्याको अस्पताल निर्माण गर्न १० रोपनी सरकारी जग्गा उपलब्ध गराउने भएको छ।
गत असार २ गते बसेको मन्त्रिपरिषद् बैठकले नेपाल सरकारको नाममा दर्ता रहेको सो जग्गा अस्पताल निर्माणका लागि आबुखैरेनी गाउँपालिकालाई दिने निर्णय गरेको हो।
सो सम्बन्धि प्रस्ताव भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयमार्फत मन्त्रिपरिषद्को कार्यालयमा पेश गरिएको थियो।
आँबुखैरेनी गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले लामो समयदेखिको प्रयासपछि अस्पताल निर्माणका लागि आवश्यक जग्गा प्राप्ति सम्भव भएको बताए।
`मुग्लिङ पोखरा अन्तर्गत पृथ्वीराजमार्गको करिब ७२ किलोमिटर खण्ड तनहुँमा पर्छ, यो क्षेत्रमा दैनिकजसो सवारी दुर्घटना हुने गरेका छन्, त्यसैले हामीले आबुखैरीनीमा ट्रमा सेन्टर निर्माणका लागि अघि बढ्छौं।´ गाउँपालिका अध्यक्ष चुमानले भने।
अध्यक्ष चुमानले गाउँपालिकाले अब ट्रमा सेन्टर निर्माणका लागि प्रक्रिया अघि बढाउने बताए।
`सरकारले जग्गा उपलब्ध गराउने निर्णय गरेको छ, अब हामी निर्माणको चरणमा अघि बढ्छौं।´ उनल्र भने।



