काठमाडौं। काठमाडौं महानगरपालिकाले असार १ गतेदेखि आगामी वर्षायाममा (तीन महिना) महानगर भित्रका सडक तथा फुटपाथ खन्न पूर्ण रूपमा रोक लगाउने भएको छ।
महानगरपालिकालेआफ्नो क्षेत्रभित्रका सडक तथा फुटपाथ तीन महिनाका लागि अर्थात भदौसम्म खन्न पूर्ण रूपमा रोक लगाउने निर्णय गरेको हो।
महानगरको सार्वजनिक निर्माण विभागले सूचना जारी गर्दै २०८२ साल असार १ गतेदेखि भदौ मसान्तसम्म कुनै पनि निकायलाई सडक खन्ने स्वीकृति वा सहमति नदिइने जनाएको हो।
मनसुनको समयमा सडक खन्दा हिलो, खाल्डाखुल्डी र पानी जम्ने जस्ता समस्याले सर्वसाधारणलाई सास्ती हुने तथा दुर्घटनाको जोखिम बढ्ने भएकाले यस्तो निर्णय गरिएको महानगरपालिकाले जनाएको छ।
वर्षायाममा खनिएका सडकहरू समयमै मर्मत गर्न नसकिने र निर्माण कार्य पनि गुणस्तरहीन हुने हुँदा यस्तो निर्णय गरिएको भन्दै विभागद्वारा जारी सूचनामा भनिएको छ,'काठमाडौं महानगरपालिका क्षेत्रभित्र मिति २०८२ असार १ गतेदेखि भदौ मसान्तसम्म सार्वजनिक सडक, फुटपाथ खन्न स्वीकृति, सहमति दिने कार्य रोकिएको ब्यहोरा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशन गरिएको छ।'
यस अवधिमा कुनै पनि बहानामा सडक खन्ने कार्य नगर्न र नगराउन सम्बन्धित सबै पक्षलाई सचेत गराइएको छ।




