भक्तपुर। सुर्यविनायक नगरपालिका भक्तपुर जिल्लाकै पहिलो पुर्ण खोप सुनिश्चितता तथा दिगोपन नगरपालिका घोषणा भएको छ।
नगरपालिकाका प्रमुख बासुदेव थापाले सुर्यविनायक नगरपालिकामा शनिबार आयोजना गरिएको घोषणा कार्यक्रममा खोप सुनश्चितता तथा दिगोपन नगरपालिका घोषणा गरेका हुन। सो क्रममा नगर प्रमुख थापाले बालबालिकालाई खोपले रोगसँग लड्ने क्षमताको विकास गर्ने बताए।
खोप सुनिश्चिताका लागि नगरपालिकाले आगामी आर्थिक वर्षमा पनि बजेट विनियोजन गर्ने थापाले बताए। उनले सुर्यविनायक नगरपालिकाले भौतिक विकास निर्माणसँगै शिक्षा र स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राख्दै काम गर्दै आएको बताए।
नगरपालिकका भित्र रहेका बालबालिकालाई खोप लगाउन कोहि पनि नछुटुन भन्दै वैशाख महिना भर घरघरमै स्वास्थ्य स्वयम् सेविकाहरू गएर खोज र खोप अभियान सञ्चालन गरेको स्वास्थ्य शाखा प्रमुख वसन्त चापागाईँले जानकारी दिए।
नगरपालिका भित्र जन्मेदेखि १५ महिनासम्मका १४ सय ५५ जना बालबालिकाहरूलाई पुर्ण खोप लगाइएको र १६ देखि २३ महिनासम्मका १३ सय ५३ जना बालबालिकाहरूलाई पुर्ण खोप लगाइएको जनाएको छ।



