भक्तपुर। भक्तपुरको सूर्यविनायक नगरपालिका–३ का स्थानीयले वडामा सबै कुरामा विकासको गति बढेको तर खानेपानीको समस्या भने समाधान हुन नसकेको गुनासो गरेका छन।
राष्ट्रिय सञ्चार केन्द्र नेपालको आयोजना र सूर्यविनायक नगरपालिकाको सहकार्यमा मंगलबार वडा कार्यालयमा आयोजित सार्वजनिक सुनुवाइ कार्यक्रममा वडा अध्यक्ष सहितका जनप्रतिनिधिहरू, स्थानीय बासिन्दा तथा सञ्चारकर्मीहरू सहभागी थिए। कार्यक्रममा सहभागी स्थानीयहरुले वडामा सडक पुर्वाधारको विकासले फड्को मारेको तर खानेपानी र सिंचाइका लागि भने पानीको अभाव भएको गुनासो गरे।
`खानेपानीको बिल आउँछ, पानी आउदैन
पाँच छ वर्षदेखि यो समस्या छ, सडक आयो, विकास आयो, तर भएको पानी पनि गयो।´ ती स्थानीयले आफ्नो गुनासो सुनाउदै भने।
अर्का सहभागीले पनि पानी अभाव हुँदा सिंचाइमा समेत समस्या भएको सुनाए। `वडाले बीउ दिन्छ, पानी छैन, बीउ दिने, मल दिने, पानी नदिने?´
प्रश्न आउनु अघि आफुले हालसम्म गरेका कामको सटिक जानकारी गराइसकेका वडा अध्यक्ष दिपेन्द्र केसीले पुन: प्रश्नको जवाफ दिंदै खानेपानी समस्याको दीर्घकालीन समाधानका लागि आफू लागिपरेको बताए।
`काठमाडौ उपत्यका खानेपानी लिमिटेड सँग दैनिक रुपमा नै आवश्यक पानी उपलब्ध गराउने गरी काम भैरहेको छ, पहिलोफेजमा केही तयारी पनि भएको छ, खानेपानीको समस्या दीर्घकालीन रुपमा नै समाधान गर्नु पर्ने देखेर योजना बनाएरै काम भैराखेको छ।´ वडा अध्यक्ष केसीले जवाफ दिंदै भने।
सिंचाइका लागि पानीको अभाव भएको चासोमा पनि वडा अध्यक्ष केसीले पहिले पहिले खोलाबाट मोटर चलाएरै पानी तान्ने गरिएकोमा हाल खोलामासमेत पानीको अभाव भएकाले समस्या भएको बताए। उनले सिंचाइका लागिसमेत थप योजना बनाइएको र स्थानीयसँग सहकार्य गरेरै अघि बढ्ने बताए।

सुर्यविनायक नगरपालिकाका वरिष्ठ इन्जिनियर जनक न्यौपानेले वडामा वस्तिको विकास व्यापक हुँदा पाइपलाइन आउटडेटेड भएका कारण खानेपानीको समस्या भएको बताए।
उनले खानेपानीको ब्यवस्थापनका लागि आउटडेटेड पाइप फेर्नुको बिकल्प नरहेको तथा पहिले गरेका लेआउटलाई हेरेर छिटै नयाँ ब्यवस्थापनमा ठूलो डिजाइनको काम गर्ने गरि केयूकेएलसँग तयारी भैरहेको जानकारी गराए।
बालकोट खानेपानी उपभोक्ता समितिका अध्यक्ष हरीशरण अधिकारीले वडा नम्बर ३ मा कुल ३५ सय घरधुरी रहेकोमा २४ सय घरधुरीमा मात्र आवश्यक पानी पुर्याइएको बताए। सो वडामा १४ हजार ६३१ जनसंख्या छ।
`वडामा ३५ सय घरधुरी छन, २४ सयमा पानीको लाइन पुगेको छ, बाँकी ११ सयमा ३ सय घरधुरी लाइनको वेटिङमा छन, बाँकी प्रक्रियामा ८ सय घरधुरी बाहिरै छन।´ उपभोक्ता समितिका अध्यक्ष अधिकारीले जानकारी दिंदै भने।
उनका अनुसार पानीको पाइप र धारा जडान गरिएका घरमासमेत हप्ताको एक पटक सिफ्ट गरेर पानी बाढ्ने गरिएको छ। `एक घरले एक हजार लिटर, एक डेढ घण्टा सम्म पानी पाउँछन्, सिफ्ट गरेर बाढ्छौं, हप्तामा एकपटक धारामा पानी आउँछ।´उनले भने।
सार्वजनिक सुनुवाई कार्यक्रममा वडा सचिव शेषराज दहालले चालू आर्थिक वर्षमा भएको वडाको आम्दानी र नगरपालिकाबाट वडाका लागि विनियोजित वजेटकाबारे जानकारी गराएका थिए।
उनले चालू आर्थिक वर्षमा वडामा ७१ लाख ७८ हजार ७४६ आम्दानी भएको र नगरपालिका कार्यालयमार्फत २ करोड ६० लाख वजेट प्राप्त भएको जानकारी गराएका थिए। उनले आम्दानी र प्राप्त रकमको बाँडफाँडको अवस्था र समग्र योजनासहितका अवस्थाका बारेमा पनि कार्यक्रममा प्रस्तुत गरेका थिए।
स्थानीय शासनलाई थप जनमुखी र उत्तरदायी बनाउने उद्देश्यका साथ आयोजित कार्यक्रममा सहभागीहरूले प्रश्नहरू सोध्ने, जिज्ञासा राख्ने र सुझावहरू प्रस्तुत गर्ने मौका पाए। कार्यक्रममा उल्लेख्य संख्यामा सहभागीहरूले सक्रिय रूपमा आफ्नो धारणा राखेका थिए।
कार्यक्रममा वडा सदस्यहरू घनश्याम भट्टराई, जनक भण्डारी, हेमा दहाल खतिवडा, शहरी स्वास्थ्य केन्द्र बालकोटका प्रमुख सुशील घिमिरे, बालकोट खानेपानी तथा सरसफाइ संस्थाका अध्यक्ष लवकुमार कार्की, प्रहरी प्रभाग बालकोटका प्रमुख हरिबहादुर खड्का, वडा इन्जिनियर रामजी दाहाललगायत सरोकारवाला निकायका प्रतिनिधिहरूले आ–आफ्नो क्षेत्रमा उठेका प्रश्नहरूको उत्तर दिएका थिए।
सार्वजनिक सुनुवाईमा वडा अध्यक्ष केसीले वडाले विगत एक वर्षमा गरेको भौतिक पूर्वाधार निर्माण, सेवा प्रवाह तथा समग्र विकासको विस्तृत विवरणसमेत प्रस्तुत गरेका थिए। उनले जनतालाई दिइएका सेवा तथा सुविधाबारे पनि विस्तृत जानकारी दिए।
कार्यक्रमको सुरुवातमा राष्ट्रिय सञ्चार केन्द्रका उपाध्यक्ष पुष्करराज बुढाथोकीले स्वागत मन्तव्य राखेका थिए भने सञ्चालन केन्द्रका सचिव हेमराज ढकालले गरेका थिए। प्रारम्भिक चरणमा सार्वजनिक सुनुवाईको औचित्य, प्रक्रिया र अपेक्षित परिणामबारे पत्रकार दिवस गुरागाईंले धारणा राखेका थिए। कार्यक्रम राष्ट्रिय सञ्चार केन्द्रका अध्यक्ष पेशल आचार्यको अध्यक्षतामा सम्पन्न भएको थियो।




