काठमाडौं। कृषि तथा पशुपन्छी विकास मन्त्रालयले लम्पी स्किन र अफ्रिकन स्वाईन फ्लुको अवस्था बुझ्न टोली परिचालन गरेको छ।
मन्त्रालयले हाल मुलुकका केही स्थानका पशु चौपायहरुमा लम्पी स्किन र अफ्रिकन स्वाईन फ्लु देखापरेको भन्ने संचार माध्यममा आएको समाचार प्रति ध्यानाकर्षण भएको भन्दै मन्त्रालयले सो बारे बुझ्न टोली परिचालन गरिएको जनाएको हो।
कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीको अध्यक्षतामा सोमबार बसेको सम्बन्धित अधिकारीहरुको वैठकले पशु सेवा विभाग अन्तर्गतका वरिष्ठ पशु चिकित्सकको नेतृत्वमा पशुपन्छी रोग अन्वेषण प्रयोगशाला, प्रदेश मन्त्रालय अन्तर्गतका सम्बन्धि अधिकृत र स्थानीय तह समेतको सहभागितामा टोली गठन गरि तत्काल रोग देखा परेका क्षेत्रमा परिचालन गर्ने निर्णय गरेको मन्त्री अधिकारीको सचिवालयले जनाएको छ।
सचिवालयका अनुसार रोगको वस्तुगत अवस्थिती अध्ययन गरी तत्काल नियन्त्रणका लागि प्रभावकारी उपाय पहिचान गर्न मातहतका निकायहरुलाई परिचालन गरिएको हो।
`रोगको वस्तुस्थितीको दैनिक/आबधिक रिपोटिङ्ग पशु सेवा विभागले मन्त्रालयका पशु स्वास्थ्य महाशाखाका वरिष्ठ पशु चिकित्सक डा.तपेन्द्र प्रसाद वोहोरालाई गराउने गरि फोकल पोइन्ट तोकिएको छ।´ मन्त्री अधिकारीको सचिवालयले भनेको छ।
बैठकले वर्षायामको सुरुवात हुने क्रमसँगै देखा पर्न सक्ने लामखुट्टे लगायतका किराहरुवाट सर्ने पशुको रोगहरुको जोखिमलाई आँकलन गरी रोग नियन्त्रण र खोप कार्यका लागि आवश्यक पर्ने खोप सहितका आवश्यक वस्तु र पारिश्रमीक समेतको लागत तयार गरी रोग नियन्त्रण कार्य तिनवटै तहका सरकारको सहभागीतामा हुने गरी परिचालनका लागि स्रोत व्यवस्थापन समेतको आँकलन गर्न पशु सेवा विभागलाई निर्देशन दिएको छ।



