बाजुरा। बाजुरा जिल्लाको बुढीगङ्गा नगरपालिका-६ बाम्का बजारमा शुक्रबार एक घरबाट शुरुभएको आगलागीले ३५ वटा पसलमा क्षती पुर्याएको छ।
जिल्ला प्रहरी कार्यालयका अनुसार बाम्का बजारमा रहेका पसल पूरै जलेर सखाप भएका छन्। नव दुर्गा होटल रहेको एक घरबाट ग्यास सिलिण्डर पड्किँदा शुरुभएको आगोले ३५ पसल जलेर नष्ट भएको प्रहरीले बताएको हो।शुक्रबार अपराह्न ३ः३० बजे आगो लाग्न शुरु भएको थियो।
आगलागीबाट करिब ८ करोड ७७ लाखको क्षति भएको छ भने पसलमा विक्रीका लागि राखिएका सामान जलेर नष्ट भएको छ।
प्रहरीका अनुसार आगलागीबाट योगनाथ न्यौपानेको पसलमा सबैभन्दा बढी क्षति भएको छ। आगलागी शुरुभएपछि स्थानीयले हारगुहार गर्दासमेत प्रहरी प्रसाशन समयमा नआएको गुनासो गरेका छन। उनीहरुले स्थानीय तहमा दमकल नहुँदा बढी क्षती भएको बताए।
एक स्थानीय हेमराज थापाले आगलागी पछि आफैले जिल्ला प्रसाशन कार्यालयका प्रमुख जिल्ला अधिकारी र सो क्षेत्रबाट निर्वाचित सांसद बद्री पाण्डेलाई फोन गरेर दमकल पठाइदिन वा हेलिकप्टरबाट आगो नियन्त्रणको प्रयास गरिदिन पटकपटक आग्रह गरेको बताए। तर सुनुवाइ नहुँदा धेरै क्षती भएको उनले जानकारी दिए।
स्थानीयले दमकल नहुँदा क्षति बढेको भन्दै पीडितलाई राहत र पुनःस्थापनाका लागि प्रदेश र संघ सरकारसँग सहयोगको माग गरेका छन।
आगलागीबाट ३५ पसलको क्षतिको विवरण सङ्कलन गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक तथा सूचना अधिकारी देवबहादुर चौधरीले जानकारी दिए।
उनका अनुसार प्रहरीले प्रारम्भिक रुपमा ३५ पसलको क्षतिको विवरण सङ्कलन गरेको उक्त पसलको रु आठ करोड ७७ लाख ६५ हजार क्षति भएको छ। प्रहरीको तथ्याङ्कअनुसार सबैभन्दा बढी योगनाथ न्यौपानेको किराना पसलको रु एक करोड ८० लाख क्षति भएको पाइएको छ।
यसैगरी आगलागीबाट तोयानाथ न्यौपानेको रु एक करोड ५० लाख, छत्र थापाको रु एक करोड ५० लाख र धनबहादुर साउदको रु एक करोड ५० लाख क्षति भएको विवरण प्रहरीले सङ्कलन गरेको प्रहरी निरीक्षक चौधरीले जानकारी दिए।
यसैगरी दीपक साउद, रामु अयडी, तुल कटुवाल र उद्धव थापाको पसलमा भएको क्षतिको रकम खुल्न नसकेको प्रहरी बताउँछ। आगलागीबाट फेन्सी पसल, मेडिकल, इलेक्ट्रोनिक, पुुस्तक पसल र होटल जलेर नष्ट भएको छ। यस्तै आगलागीबाट सु प प्र ०१–००१ प ४६८१ नम्बरको मोटरसाइकल समेत जलेर नष्ट भएको छ।
स्थानीय छत्र थापा भन्छन, `‘स्थानीय तहमा दमकल भएको भए बढी क्षति हुनबाट जोगिने थियो।’
आगलागीबाट पीडितहरुको तथ्याङ्क सङ्कलन गरी उनीहरुलाई राहत र पुनःस्थापनाका लागि जिल्ला विपद् व्यवस्थापन समितिको शुक्रबार बसेको बैठकले प्रदेश र सङ्घ सरकारसँग पीडितलाई राहत उपलब्ध गराउन माग गर्ने निर्णय गरेको छ।
शुक्रबार आगलागी भएपछि सरकारका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे प्रभावित क्षेत्रमा पुगेकाब्थिए। मन्त्री पाण्डेले आगलागीको क्षतिको अनुगमन गर्ने र उनीहरुका गुनासा सुन्ने गरी प्रभावित क्षेत्रमा पुगेको सचिवालयले जानकारी दिएको छ।



