कैलाली। कैलालीको गौरीफन्टा नाका हुँदै भारतबाट नेपाल आएका तीन जना नेपालीमा कोभिड सङ्क्रमण पुष्टि भएको छ।
सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका महामारी सम्पर्क व्यक्ति हेमराज जोशीका अनुसार उनीहरुमा संक्रमण पुष्टि भएको हो। भारतबाट आएका ३६ जनामा कोभिड परीक्षण गर्दा तीन जनामा सङ्क्रमण पुष्टि भएको उनले जानकारी दिए।
कोभिड पुष्टि हुनेमा कञ्चनपुरको पुनर्वासका २० वर्षका युवक, अछामको ढकारीका ३२ वर्षीय युवक र कैलालीको धनगढीकी २४ वर्षीया युवती छन्।
भारतमा कोभिड संक्रमितको संख्या बढ्दै गएपछि त्यसको असर अब नेपालमा पनि पर्न सक्ने देखिएको जोशीले जानकारी दिए। तर कोभिडको परीक्षणका लागि किट नहुँदा अन्य नाकामा परीक्षण हुन सकेको छैन।
कोभिड पुष्टि भएका सबैको पिसीआर परीक्षणका लागि केन्द्रीय जनस्वास्थ्य प्रयोगशाला टेकु काठमाडौँ पठाइएको उनले बताए।
“कोभिड पुष्टि भएका तीनै जनाको ‘स्याम्पल’ टेकु पठाएका छौंँ, त्यहाँ पिसीआर परीक्षणपछि कोभिडको कुन भेरियन्ट रहेछ भन्ने पत्ता लाग्छ।”जोशीले भने।
जिल्ला स्वास्थ्य कार्यालय कञ्चनपुरका प्रमुख ओमप्रकाश जोशीले कोभिड परीक्षणका लागि आवश्य किटको अभाव रहेको जानकारी दिए।
“गड्डाचौकी नाका हुँदै नेपाल आउनेको सङ्ख्या बढेको छ, तर हामीसँग कोभिड परीक्षण गर्न अवश्यक कीट छैन, नाकामा रहेका हेल्थ डेस्कबाटसमेत कोभिड परीक्षणको किट माग भएको छ, दिन सकिएको छैन”, उनले भने।
उनले माथिल्लो निकायमा कीट सकिएको जानकारी गराइसकिएको तर उपलब्ध नभएको बताए। कैलालीको गौरीफन्टा र कञ्चनपुरको गड्डाचौकी भारतसँग जोडिएका प्रमुख नाका हुन्।
नाकामा हेल्थ डेस्क रहेको भए पनि कोभिड परीक्षणका लागि किट नहुँदा परिक्षण हुन सकेको छैन। महेन्द्रनगरस्थित महाकाली प्रादेशिक अस्पताल कोभिडको लक्षण देखिएका बिरामी आउने गरे पनि परीक्षण किट नहुँदा परीक्षण गर्न नसकिएको अस्पतालका सूचना अधिकारी शान्तप्रसाद जोशी बताउँछन।
स्वास्थ्य मन्त्री प्रदीप पौडेलले आफैंले सम्भावित महामारीको रोकथाम तथा नियन्त्रणका लागि तयारी गर्न आवश्यक संयन्त्रलाई निर्देशन दिंदासमेत तयारीमा फितलोपना देखिएको छ।
स्वास्थ्य सेवा विभागले पनि सङ्क्रमणको महामारी निम्तनसक्ने सम्भाव्यतालाई मध्यनजर गर्दै मातहातका कार्यालय, अस्पताल र प्रयोगशाला तयारी अवस्थामा रहन निर्देशन दिंदै आएको छ। तर, नाकामा परीक्षणका लागि किट नहुँदा परीक्षण हुन सक्ने अवस्था भने छैन।



