काठमाडौं। सरकारसँगको सहमतिपछि यातायात व्यवसायीले दुई दिनदेखि जारी देशव्यापी हडताल फिर्ता लिएका छन्।
सरकार र यातायात ब्यवसायीबिच सोमबार राति भएको वार्ता र सोही वार्तापछि गण्डकी प्रदेश सरकारले आज मंगलबार राइड सेयरिङ नियमावलीलाई एक महिनाको लागि स्थगित गरेसँगै यातायात व्यवसायीले देशब्यापी हडताल फिर्ता लिने निर्णय गरेका हुन।
संघीय सरकारसँगको छलफलपछि प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयले गण्डकी प्रदेश सरकारलाई पत्र पठाउँदै राइड सेयरिङ नियमावलीलाई एक महिनाको लागि स्थगित गरेर छलफल र वार्ता गर्न निर्देशन दिएको थियो।
सरकारको सो पत्रपछि यातायात ब्यवसायीको बैठकले हालका लागि यातायात हडतालका कार्यक्रम फिर्ता लिने निर्णय गरेको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष विजय स्वाँरले जानकारी दिए।



