मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

अस्पतालमा सुत्केरी हुनेलाई ‘उपमेयरको कोसेली’

अस्पतालमा सुत्केरी हुनेलाई ‘उपमेयरको कोसेली’

images
२०८२ जेठ २० गते, मंगलवार
२०८२ जेठ २० गते, मंगलवार
  • बैतडी। दशरथचन्द नगरपालिकाले स्वास्थ्य संस्थामा सुत्केरी हुनेलाई ‘कोसेली’ दिन थालेको छ।

    images

    नगरपालिकाले दिने ‘कोसेली’मा हरलिक्स, काजु, बदाम, दाल, नुनलगायत खाद्य सामग्रीका साथै सरसफाइका सामग्री छन्।

    images

    दशरथचन्द नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख भुवन जोशीले घरमा हुने सुत्केरीलाई शून्यमा झार्ने उद्देश्यले ‘उपमेयरको कोसेली’ दिन थालिएको बताए।

    “घरमा हुने सुत्केरीको संख्या शुन्यमा झार्ने नीति अनुसार नगरपालिकाको यो अभियान हो, घरमा सुत्केरी गराउँदा जोखिम हुन्छ, अस्पतालमा भए आमा तथा नवजात शिशुको स्वस्थ्यमा पनि ढुक्क हुने अवस्था रहन्छ, यो कुरा बुझाउन हामी अभियानमा छौं।´ उनले भने।

    उनका अनुसार चालु आर्थिक वर्षमा माघसम्म स्वास्थ्य संस्थामा सुत्केरी भएका आमाहरूलाई यसअघि नै कोसेली वितरण गरिसकिएको छ। माघपछि सुत्केरी भएका आमाहरूलाई अहिले कोसेली वितरण भइरहेको छ।

    घरमा हुने सुत्केरीलाई शून्य बनाएर आमा तथा नवजात शिशुको स्वास्थ्य र पोषणमा सुधार ल्याउने तथा आमा र शिशुको स्वास्थ्यका विषयमा घरपरिवारका सदस्यलाई जागरुक गराउने, मातृ र शिशु मृत्युलाई शून्यमा झार्ने उद्देश्यसहित ‘उपमेयरको कोसेली’ वितरण गर्ने काम भइरहेको उनको भनाइ छ।

    नगरप्रमुख पुष्करराज जोशीका अनुसार घरमै सुत्केरी हुँदा विभिन्न खालका जटिलता आएर आमा र शिशुको ज्यान जान सक्ने भएकाले संस्थागत सुत्केरीको सङ्ख्या बढाउन कोसेली वितरण गर्ने अभियान सञ्चालन गरिएको हो।

    समुदायमा अझै पनि कतिपय आमाहरूले घरमै बच्चा जन्माइरहेकाले स्वास्थ्य संस्थामै बच्चा जन्माउनेको सङ्ख्या वृद्धिका लागि कोसेलीले सहयोग पुग्ने अपेक्षा गरिएको छ। सुत्केरी अवस्थामा अरु बेलाभन्दा थप पोषिलो खानेकुराको आवश्यकता पर्ने भएकाले कोसेलीमार्फत पोषणसम्बन्धी जागरण फैलाउने उद्देश्य छ। 

    नगरपालिकाका उपप्रमुख कौशिला चन्दले आमा र शिशुको स्वास्थ्य र पोषणमा सुधार ल्याउन कोसेली दिने कार्यलाई यस वर्ष पनि निरन्तरता दिइएको बताइन।

    `घरमा हुने सुत्केरीलाई शून्यमा झार्ने र नगरपालिकालाई नै पूर्ण संस्थागत सुत्केरी घोषणा गर्ने अर्को उद्देश्य रहेकाले कोसेली वितरण गरिरहेका छौँ।´ उपप्रमुख चन्दले भनिन।

    यस वर्ष नगरपालिकाभरि चार सय ७५ सुत्केरी आमालाई ‘उपमेयरको कोसेली’ वितरण गर्ने लक्ष्य रहेको छ।

    सुत्केरी तथा गर्भवतीलाई स्वास्थ्य संस्थामा पुर्याउन नगरपालिकाले निःशुल्क एम्बुलेन्स उपलब्ध गराउने गरेको छ।

    स्वास्थ्य संस्थामै सुत्केरी हुने र सरकारको मापदण्ड अनुसार आठपटक गर्भजाँच गराउने आमालाई सरकारले २८ सय प्रोत्साहन भत्तासमेत दिँदै आएको छ।

    यस्तै टिटी खोप, जुकाको औषधि र आइरन चक्की सरकारले गर्भवती तथा सुत्केरीलाई निःशुल्क उपलब्ध गराउँदै आएको छ।  

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend