काठमाडौं। काठमाडौ महानगरपालिका भित्रका विभिन्न स्थानमा २४ वटा बस बिसौनी (फल्चा)बन्ने भएको छ। कुल नौ करोड लागतमा बन्ने ती फल्चामा काठमाडौं उपत्यकाको पहिचान र सांस्कृतिक धरोहर झल्कने छन।
काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहका अनुसार २४ मध्ये आठ फल्चा हाल धमाधम निर्माण भैरहेका छन। महानगर प्रमुख शाहले काठमाडौं महानगरपालिकाले विभिन्न सडकखण्डमा बस विसौनी (फल्चा) निर्माण कार्य निरन्तर गर्दै आएको जानकारी दिएका हुन। माघ २०८१ मा जारी कार्यादेशअनुसार थप फल्चा निर्माणको प्रक्रिया अघि बढेको हो।
नगरप्रमुख शाहका अनुसार महानगरपालिकाले आर्थिक वर्ष २०७९/८० देखि नै फल्चा बनाउन बजेट विनियोजन गर्दै आइरहेको छ।
विजुली बजारमा रहेका दुईवटा फल्चा आर्थिक वर्ष २०८०/८१ मा निर्माण सम्पन्न भई उद्घाटन भइसकेका छन्।
काठमाडौं महानगरका नगर प्रमुख शाह सामाजिक संजाल फेसबुकमा लेख्छन, `मलाई पहिलेदेखि लाग्थ्यो, फल्चाहरूको सामाजिक र सांस्कृतिक महत्व ठुलो छ तर यी विस्थापित हुँदैछन्। यसलाई तस्विर र संग्राहलयमा राख्ने होइन, तिनको संरक्षण, उपयोग र प्रवर्द्धन आजको आधुनिक विकासको दौडमा पनि अपरिहार्य छ। त्यसैले सोच्थेँ, कम्तिमा, हरेक बस स्टपमा (Bus Stop) यात्रुहरुलाई हाम्रो आफ्नो मौलिकता भएको फल्चा राख्न पाए कति राम्रो हुन्थ्यो। अहिले त्यहिअनुरूप कामहरू भइरहेका छन् भनेर जानकारी गराउदछौ।´
उनले फल्चा प्राचीनकालदेखि नेवा संस्कृतिमा सामाजिक एकताको केन्द्र रहँदै आएको भनेका छन।
`जहाँ मानिसहरू भेला भएर विचार साटासाट, मेलमिलाप र सामूहिक निर्णय लिने गर्दथे। चैत्य वा पाटीसँग जोडिएका फल्चामा भजन, पूजा र पर्वका तयारीसमेत चलिरहन्थ्यो। प्राचिन समयमा यात्रु र तीर्थयात्रीका लागि विश्रामस्थल बनेका ती ठाउँहरूले काठमाडौं गल्लीहरूमा थकित शरीरलाई विश्रामको मौका दिइ फूर्तिलो बनाउँथे। बुढापाका मानिसहरूले फल्चामा बसेर कथा, इतिहास र परम्परा सुनाउँदा पुस्तान्तरण हुँदै मौलिक इतिहास संरक्षणमा ठूलो योगदान पुग्थ्यो। यसैले फल्चा केवल ऐतिहासिक संरचना मात्र होइन, काठमाडौं उपत्यकाको पहिचान र सांस्कृतिक धरोहर हो।´ शाहले लेखेका छन।
उनले नयाँ बन्ने फल्चा माघ २०८२ भित्र सम्पन्न हुने जानकारी गराएका छन। यस्तै फल्चा काठमाडौंको सभ्यता झल्काउने किसिमको हुने पनि उनले भनेका छन।
`‘कंक्रीटाइजेसन’ले छोपेको यो समयमा काठमाडौंको सभ्यता झल्काउने झिंगटीको छानो, थामलगायत तथा बुट्टेदार अग्राखको काठबाट बनेका कलात्मक भागहरूसहितको फल्चा दृष्यका लागि पनि मनोरम बन्ने छ। सुविधाका लागि हरेक फल्चामा दुईतर्फी यात्रु विश्रामको सुविधा छ र बीचको बाटोबाट पैदल आवतजावत सहज हुने गरी 'डिजाइन' गरिएको छ। यो अपाङ्गमैत्री पनि छ।´ शाह लेख्छन।
उनले यस्ता कार्यले काठमाडौंको मौलिक संस्कृतिलाई थप उजागर गर्न मद्दत पुग्ने विश्वाससमेत आफुले लिएको भनेका छन।



