भक्तपुर। पत्रकारलाई प्रविधि सिकाउन नेपाल पत्रकार महासंघ जिल्ला शाखा भक्तपुरले मोबाइल जर्नालिज्म (मोजो) सम्बन्धी अभिमुखीकरण कार्यक्रम आयोजना गरेको छ।
सुर्यविनायक नगरपालिकाको सहकार्यमा पत्रकार महासंघ भक्तपुर शाखाले पत्रकारहरुका लागि एकदिने अभिमुखीकरण कार्यक्रम आयोजना गरेको हो।
कार्यक्रमको उद्घाटन गर्दै सूर्यविनायक नगरपालिकाका प्रमुख वासुदेव थापाले आफ्नो नगर नवस्थापित भए पनि जनहितका कार्यमा विभिन्न चुनौतीहरूसँग जुझ्दै अघि बढिरहेको बताए। उनले विकास निर्माणको कार्यमा सञ्चार क्षेत्रको महत्त्वपूर्ण भूमिका रहेको उल्लेख गरे।
प्रमुख थापाले नगरवासीले तिरेको कर र जनप्रतिनिधिले बनाएका ऐन, नियमअनुसार पारदर्शी रूपमा काम भइरहेको बताए। उनले पत्रकारितामा नकारात्मक प्रवृत्तिको निरुत्साहन गर्न आवश्यक रहेको भन्दै पत्रकारहरूलाई जिम्मेवार बन्न आग्रह गरे।
साथै, उपत्यकाका सार्वजनिक जग्गा निजीकरण गर्न नदिन र तथ्यहीन समाचार प्रकाशनबाट नगरमा भ्रम फैलन नदिन सबैलाई सचेत रहन समेत उनले आग्रह गरे। उनले पत्रकारहरूको सीप अभिवृद्धिका लागि मोबाइल जर्नालिज्मसम्बन्धी सहयोग प्रदान गरिएको जानकारी पनि गराए।
कार्यक्रममा उपप्रमुख सरिता तिम्सिना भट्टराईले सञ्चारकर्मीहरूले नगरपालिकाका गतिविधिलाई जनतासम्म पुर्याएर सकारात्मक भूमिका खेलेकोमा धन्यवाद दिँदै प्रविधिसँग मेल खाने पत्रकारितामार्फत क्षमतामा वृद्धि हुने बताइन्। उनले बदलिँदो डिजिटल प्रविधिप्रति सतर्क रहनुपर्ने सुझाव पनि दिइन्।
जिल्ला प्रशासन कार्यालय भक्तपुरका प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अर्यालले पत्रकारहरूको व्यावसायिक क्षमता विकासमा अभिमुखीकरण कार्यक्रमले योगदान पुर्याउने विश्वास व्यक्त गर्दै डिजिटल माध्यमको दुरुपयोगप्रति सजग रहन आग्रह गरे।
नेपाल पत्रकार महासंघ भक्तपुर शाखाका अध्यक्ष सुन्दर शिल्पकारले सूर्यविनायक नगरपालिकालाई कार्यक्रमका लागि सहयोग उपलब्ध गराएकोमा आभार प्रकट गर्दै वर्तमान डिजिटल युगमा मोबाइल पत्रकारिता आवश्यक भएको बताए।
सामाजिक सञ्जालमा प्रकाशित सामग्रीहरू सबै पत्रकारिता नभएको उल्लेख गर्दै उनले पत्रकारहरूलाई संयमित र सचेत रहन पनि आग्रह गरे।
कार्यक्रमका संयोजक तथा पत्रकार महासंघ भक्तपुरका उपाध्यक्ष हेमराज ढकालले पत्रकारिता क्षेत्रमा बढ्दो चुनौतिलाई आत्मसाथ गर्नका लागि यस्ता सिकाइ महत्वपूर्ण हुने बताए।
कार्यक्रममा जिल्लामा सक्रिय ६० जना पत्रकारहरुको सहभागीता थियो भने पत्रकार विकाश कार्कीले मोबाइल जर्नालिज्म (मोजो) सम्बन्धी प्रशिक्षण दिएका थिए।





