काठमाडौं। भक्तपुर क्यान्सर अस्पतालले पूर्वी नेपालका विभिन्न जिल्लाहरूमा महिलाहरुको स्तन तथा पाठेघरको क्यान्सरको स्क्रिनिङ शुरु गरेको छ।
भक्तपुर क्यान्सर अस्पातलले बिहीबार पुर्वी नेपालको इलामबाट क्यान्सर रोगको स्क्रिनिङ शुरु गरेको हो। इलाम नगरपालिका र क्यान्सर रिलिफ सोसाइटी इलामको सहकार्य तथा इलाम अस्पतालसँगको समन्वयमा भएको कार्यक्रम अन्तर्गत पहिलो दिन इलाम जिल्ला अस्पताल, इलाममा क्यान्सर रोगको स्क्रिनिङ गरिएको भक्तपुर क्यान्सर अस्पतालका निर्देशक डा. उज्ज्वल चालिसेले जानकारी दिए।
इलाममा पहिलो दिनको परिक्षणमा चार सय भन्दा बढीको पाठेघर तथा स्तनको स्क्रिनिङ गरिएको छ। यसमध्ये दुई सय जनाको नमुना परिक्षणका लागि लिइएको छ।
`हामीले नमुना लिनै पर्नेहरुलाई स्याम्पलिङ गरेर लिन्छौ, कतिपयको अल्ट्रासाउन्डबाट पनि अन द स्पट स्क्रिनिङ हुन्छ, कतिपयको पाठेघरको मुखको पानी नै निकाल्छौं।´ डा. चालिसेले एक्सरे नेपालसँग भने।
यसरी स्क्रिनिङ गर्दा समस्या देखिएकाहरुलाई फलोअपमा राख्ने गरिएको डा. चालिसेले जानकारी दिए। यस्तै सामान्य समस्या देखिएकाहरुलाई नजिकको अस्पतालमा चेकजाँच र आवश्यक परामर्शका लागि पठाइने तथा बढी समस्या पहिचान भएकाहरुलाई भक्तपुरस्थित अस्पतालमा नै बोलाइने उनको भनाइ छ।
आज इलाममा परिक्षण सकाएर चिकित्सक टोली पाँचथर पुगेका छन। दोस्रो र तेस्रो दिन जेठ ९ र १० गते पाँचथर जिल्लाको फिदिममा रहेको जिल्ला अस्पतालमा महिलाहरूको पाठेघर तथा स्तनको स्क्रिनिङ गरिने कार्यक्रम छ।
यस्तै चौथो दिन जेठ ११ गते संखुवासभा जिल्लाको धर्मदेवीस्थित मुडे शनिश्चरेमा महिलाहरूको पाठेघर तथा स्तनको स्क्रिनिङ गरिनेछ।
यसैगरी छैटौँ दिन जेठ १३ गते धनकुटा जिल्लाको पाख्रीबासमा परिक्षण हुनेछ। परिक्षणका क्रममा विशेषज्ञ चिकित्सकको परामर्श सेवा, प्याप स्मियर (Pap Smear) परीक्षण, लिक्विड बेस्ड साइटोलोजी, स्तन क्यान्सर स्क्रिनिङको लागि अल्ट्रासाउण्ड सेवा प्रदान गरिनेछ।
भक्तपुर क्यान्सर अस्पतालले गत चैतमा सुदुरपश्चिम प्रदेशमा समेत पुगेर महिलाहरूको पाठेघर र स्तनको क्यान्सरको स्क्रिनिङ गरेको थियो। यस्तै गत बैशाखमा सिन्धुलीमा समेत क्यान्सरको स्क्रिनिङ गरिएको थियो।









