सुनसरी। सुनसरीको बराहक्षेत्रमा अफ्रिकन स्वाइन फिभरको सङ्क्रमणका कारण ३६ बङ्गुरको मृत्यु भएको छ।
बराहक्षेत्र नगरपालिकाका १ का स्थानीयले व्यावसायिक रूपमा पालेका बङ्गुरमा अफ्रिकन स्वाइन फिभर देखिएको भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र इनरुवाका प्रमुख डा मनोजकुमार महतोले जानकारी दिए
उनका अनुसार दियाली कृषि फार्ममा २० वटा बङ्गुरमा सङ्क्रमण देखिएको छ भने १७ वटाको मृत्यु भइसकेको छ। त्यसैगरी बराह बङ्गुर फार्ममा १५ वटामा सङ्क्रमण देखिएको छ भने ७ बङ्गुरको मृत्यु भएको छ।
डा महतोका अनुसार बराहक्षेत्रका सुवास श्रेष्ठको फार्ममा पालिएका २२ वटा बङ्गुरमा सङ्क्रमण देखिएको छ भने १२ को मृत्यु भएको छ।
बराहक्षेत्रमा मात्र अफ्रिकन स्वाइन फिभरको सङ्क्रमणका कारण सोमबारसम्म ३६ बङ्गुरको मृत्यु भएको हो। अझै ५७ वटामा सङ्क्रमण देखिएको डा महतोले जानकारी दिए।
यसअघि सुनसरीको दुहबी, रामधुनी र धरानमा रहेका बङ्गुर फार्ममा समेत सङ्क्रमण देखिएको थियो।



