भक्तपुर। देशकै पुरानो वीर अस्पतालपछिको अस्पताल भक्तपुर अस्पतालले स्थापनाको १ सय २१ वर्षपछि नयाँ सेवाको औपचारिक सुरुवात गरेको छ।
तत्कालीन प्रधानमन्त्री चन्द्रशमशेर राणाले चन्द्रलोक डिस्पेन्सरीको नाममा स्थापना गरेको १ सय २१ वर्षको इतिहास बोकेको भक्तपुर अस्पतालले आइतबारबाट अस्पतालमा सिटी स्क्यान र मेमोग्राम सेवाको औपचारिक सुरुवात गरेको हो। अस्पतालमा १२८ स्लाइस क्षमताको अत्याधुनिक सिटी स्क्यान मेसिन जडान गरिएको छ।
आइतबार बागमती प्रदेशका स्वास्थ्यमन्त्री किरण थापाले सो सेवाको शुभारम्भ गरेका हुन। भक्तपुर अस्पतालमा यो सेवा शुरु भएसँगै अस्पतालले नयाँ परिचय पाएको छ।
बागमती प्रदेशका स्वास्थ्यमन्त्री थापाले १२८ स्लाइस क्षमताको अत्याधुनिक सिटी स्क्यान मेसिनको उद्घाटन गर्दै भक्तपुर अस्पताल देशकै पुरानो र संभावनायुक्त अस्पताल रहेको बताए।
`यो अस्पताल देशकै पुरानो र संभावनायुक्त अस्पताल भित्र पर्ने अस्पताल हो, तर विगतमा उपेक्षित भयो, अहिले हामीले आधुनिक सेवा विस्तारको दिशामा ऐतिहासिक कदम चाल्यौं, अब भक्तपुरमै अत्याधुनिक सिटी स्क्यान सेवा उपलब्ध हुनेछ, यो आम नागरिकका लागि ठूलो राहत हो।” थापाले सम्बोधनका क्रममा भने।

बागमती प्रदेश सरकारले खरिद गरेर पठाएको अत्याधुनिक क्षमताको सिटी स्क्यान मेसिनबाट औपचारिक रूपमा आइतबारदेखि बिरामीलाई सेवा प्रवाह गरिएको अस्पतालका कार्यकारी निर्देशक डा सुरेन्द्रप्रसाद भट्टले जानकारी दिए।
उनले अब बिरामीले सिटी स्क्यान गर्न अन्य अस्पतालमा महँगो शुल्क तिरेर धाउनु नपर्ने बताए।
अस्पतालका लागि बागमती प्रदेश सरकारअन्तर्गत स्वास्थ्य मन्त्रालयले बोलपत्र आह्वान गरी रु ८ करोड लगानीमा १२८ स्लाइसको सिटी स्क्यान मेसिन खरिद गरेको थियो।
भक्तपुर अस्पतालमा १ करोड १० लाखको लागतमा मेमोग्राम मेसिनसमेत आइतबार नै जडान गरिएको छ। सो मेसिन जडान गरेपछि यहाँका महिलालाई स्तन क्यान्सरको पहिचान एवं स्क्रिनिङ गर्न सजिलो हुनेछ।
यसैगरी अस्पतालको आकस्मिक कक्षसँगै रहेको भवनमा १० शय्याको डायलोसिस कक्ष तयार पारिएको छ। केन्द्रीय सरकारले डायलोसिस मेसिन सहयोग गरे दैनिक कम्तीमा एक सय बिरामीलाई सेवा दिन सकिने अस्पतालले बताएको छ।
कोरोना महामारीमा अस्पतालका तत्कालीन मेडिकल सुपरिटेन्डेन्ट एवं हाल बागमती प्रदेश स्वास्थ्य मन्त्रालयका सचिव डा सुमित्रा गौतमको कार्यकालमा अस्पतालले सुधारको मौका पाएको थियो। त्यसबखत भक्तपुर अस्पताल रिफर सेन्टरबाट विशेषज्ञ सेवासहितको गुणस्तरीय सेवा दिब सफल भएपछि देशकै उत्कृष्ट अस्पताल घोषणा भएको थियो।



