नवलपरासी। पश्चिम नवलपरासीका सात स्थानीय तह पुर्ण खोप सुनिश्चित भएका छन।
जिल्लामा तीन नगरपालिका र चार गाउँपालिका गरि सात स्थानीय तह रहेकोमा सबै पूर्ण खोप सुनिश्चितता तथा दिगोपना भएको पालिका बनेका हुन।
जिल्लाको पाल्हीनन्दन गाउँपालिकासमेत पुर्ण खोप सुनिश्चित भएपछि जिल्लाका सबै स्थानीय तहपूर्ण खोप सुनिश्चितता तथा दिगोपना भएको पालिका बनेका हुन।
बिहीबार परासीमा बसेको जिल्ला खोप समन्वय समितिको बैठकले जिल्लाका सबै पालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना भएको घोषणा गरिएको हो।
बैठकले नवलपरासीलाई पूर्ण खोप सुनिश्चितता भएको जिल्ला घोषणा गर्न लुम्बिनी प्रदेश खोप समन्वय समितिलाईसमेत सिफारिससमेत गरेको छ।
जिल्ला खोप समन्वय समितिका संयोजक एवं जिल्ला समन्वय समितिका प्रमुख भगवती प्रसाद यादवले लुम्बिनी प्रदेश खोप समन्वय समितिलाईसमेत सिफारिस गरिएको जानकारी दिए।
प्रदेशको खोप समन्वय समितिले प्रमाणीकरणसहित सिफारिस गरे लगत्तै जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना भएको घोषणा गरिने यादवले बताए।
जिल्लामा जन्मेदेखि ५९ महिना उमेर समूहका कुल २४ हजार ९१६ बालबालिका रहेको स्वास्थ्य कार्यालयका खोप सुपरभाइजर ओमप्रकाश पन्थीले जानकारी दिए।
तीमध्ये खोप लगाउने छुटेका जन्मेदेखि १५ महिनासम्म उमेर समूहका १३ जना र १६ महिनादेखि ५९ महिनासम्म उमेर समूहका १७३ गरी कुल १८६ जना बालबालिका थिए। ती सबैलाई खोपको दायरामा ल्याएपछि जिल्लाका सबै बालबालिकाले पूर्ण खोप पाएको पन्थीले जानकारी दिएका छन।



