हेटौंडा। हेटौंडा-काठमाडौं जोड्ने कुलेखानी–कलंकी–हुमाने सडक स्तरोन्नतिका लागि १९ दिन सवारीसाधन बन्द हुने भएको छ।
जिल्ला प्रशासन कार्यालय मकवानपुरले मंगलबार एक सूचना जारी गर्दै सो सडक जेठ २ देझी २० गतेसम्म बन्द हुने बताएको हो। सो सडकमा सडक पूर्वाधार विकास कार्यालय, हेटौंडा, मकवानपुर मार्फत् ठेक्का लागि हाल मर्मत तथा स्तरोन्नतीको काम भइरहेको छ।
पूर्वाधार विकास कार्यालय, हेटौंडाको पत्रचार बमोजिम इन्द्रसरोवर गाउँपालिकास्थित कुलेखानी–कलंकी–हुमाने सडक खण्ड कालोपत्रे गर्ने प्रयोजनका लागि जेठ २ गतेदेखि २० गतेसम्म (१९ दिन) बन्द गरिने भएको सहायक प्रमुख जिल्ला अधिकारी राजेन्द्र प्रसाद कडेंलद्वारा जारी सुचनामा भनिएको छ।
१९ दिन उक्त सडक खण्डमा सवारी आवागमन पूर्ण रुपमा बन्द हुने भएकोले सो अवधिमा हेटौंडा–काठमाडौं आवतजावतका लागि अन्य वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरिएको छ।
जिल्ला प्रशासन कार्यालयले सुचनामार्फत सो अवधिमा कान्ति लोकपथ वा कुलेखानी–सिस्नेरी फर्पिङ सडकको प्रयोग गर्न आग्रह गरेको छ।




