काठमाडौं। चन्द्रागिरि नगरपालिकाले आर्थिक वर्ष २०८१–०८२ को सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ।
नगरपालिकाले वर्षेनी आफुले गरेको सम्पादित कार्य तथा सेवा प्रवाह सम्बन्धी काम नगरबासीलाई जानकारी गराउने उद्देश्यले सार्वजनिक सुनुवाई गर्दै आएको छ।
नगरप्रमुख घनश्याम गिरीले सार्वजनिक सुनुवाईमा नगरबासीले सोधेको प्रश्नको जवाफ दिंदै आगामी योजनासमेत सुनाएका छन। उनले अहिले नगरले गरेको कामकारवाहीमा नगरबासी सन्तुष्ट रहेको समेत बताए।
उनले नगरको गौरबको योजना अन्तर्गत तीनथानाको विष्णुदेवी मन्दिर, इन्द्रदहको कालुपाण्डे समाधिस्थल, मातातीर्थ कुण्डलगायत रहेको बताए। आफ्नो नगरलाई पर्यटनको हव बनाउनको लागि प्रसस्त ठाउँहरु रहेको भन्दै उनले आगामी दिनमा चन्द्रागिरि आन्तरिक तथा बाह्य पर्यटकको रोजाई बन्ने पनि दाबी गरे।
सार्वजनिक सुनुवाई कार्यक्रममा नगरबासीलाई पानी खुवाउनको लागि अहिले पनि नगरमा ३ करोड रुपैयाँ रहेको र सो रकम पानी अभाव भएका वडामा खर्च गरिने पनि गिरीले जानकारी दिए।
यसैगरी उज्यालो चन्द्रागिरि, ज्येष्ठ नागरिक, शिक्षालाई विशेष प्राथमिकता राखी नगरपालिकाले काम गरिरहेको बताउदै गिरीले नगरकोको प्रमुख समस्याका रुपमा घरघरबाट निस्कने फोहोर भएकोले त्यसलाई मोहोरमा परिणत गर्न नगरपालिका अघि बढेको जानकारी गराए।
सार्वजनिक सुनुवाई कार्यक्रम ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालको सहजीकरणमा भएको थियो। उक्त कार्यक्रममा नगरका उपप्रमुख बसन्ती श्रेष्ठ, नगरप्रवक्ता कृष्णप्रसाद खड्गी, १५ वटै वडाका जनप्रतिनिधिहरु, विभिन्न राजनीतिक दलका प्रतिनिधिहरु, प्रहरी बृत्त थानकोटका प्रमुख प्रहरी नायव उपरीक्षक एलिजा गिरी, बलम्बु प्रहरी प्रभागका प्रमुख प्रहरी निरीक्षक लक्ष्मी खड्का, एपीएफ बलम्बुका प्रतिनिधि, नगरबासीहरु, कर्मचारीहरु, संचारकर्मी लगायतको उपस्थिति रहेको थियो।



