काठमाडौं। चन्द्रागिरि नगरपालिका–८ स्थित मातातीर्थ आयुर्वेद तथा वैकल्पिक चिकित्सा अस्पतालमा शल्यक्रिया सेवा (अप्रेशन थिएटर ) र पोष्ट अप्रेशन वार्डको सुरुवात भएको छ।
नगरपालिकाका नगर प्रमुख घनश्याम गिरिले बिहीबार सो सेवाको शुभारम्भ गरेका हुन। स्थानीय तहमा आयुर्वेद तथा वैकल्पिक चिकित्सा अस्पतालमा शल्यक्रिया सेवा निःशुल्क सुरुवात गर्ने चन्द्रागिरि नगरपालिका पहिलो भएको छ।
अस्पतालले पञ्चकर्म र क्षारसुत्र सेवालाई अझ गुणस्तरीय बनाउन शल्यक्रिया सेवा सञ्चालनमा ल्याएको हो। सो समारोहमा चन्द्रागिरि नगरपालिकाका प्रमुख गिरीले नगरले ‘एलोपेथिक’ उपचार र आयुर्वेद चिकित्सा दुवै सेवालाई एकै साथमा अगाडि बढाउँदै ‘स्वस्थ नगर र स्वस्थ नगरवासी’ बनाउने उद्देश्यसहित स्वास्थ्य सेवालाई उच्च प्राथमिकता दिइएको बताए।
अस्पतालका प्रमुख डा नारायण आचार्यले शल्यक्रिया कक्ष सञ्चालन भएसँगै अस्पतालले थप विशेषज्ञ सेवासमेत प्रदान गर्ने बाटो खुला भएको जानकारी दिए।
उनका अनुसार अस्पतालमा पञ्चकर्म सेवा अन्तर्गत पाइल्स, फिस्टुला र फिसरको शल्यक्रिया हुनेछ। उनले पहिलो चरणमा साताको एक दिन शल्यक्रियाको व्यवस्था रहेको र बिरामीको चाप र मागका आधारमा क्रमशः दैनिक शल्यक्रियाको व्यवस्था मिलाउने योजना रहेको बताए।
अस्पतालले दैनिक बहिरङ्ग सेवा (ओपिडी) र सातामा एकदिन विशेषज्ञ सेवा प्रदान गर्दै आएको छ। पञ्चकर्मअन्तर्गत (बमन, बिरेचन, वस्तिकर्म, नश्य कर्म र रक्तमोक्षण) पूर्व कर्मका विभिन्न सेवा अस्पतालले प्रदान गरिरहेको छ। अस्पतालको आफ्नै जडीबुटी उद्यान पनि रहेको बताइएको छ।
कार्यक्रममा नगर प्रवक्ता कृष्णप्रसाद खड्गी, चन्द्रागिरि–८ का वडाध्यक्ष प्रल्हाद रिजाल, चन्द्रागिरि–१५ का वडाध्यक्ष एवं सामाजिक विकास समितिका संयोजक घनश्याम लुइँटेल, चन्द्रागिरि–१३ का वडाध्यक्ष श्रीकृष्ण खत्री, प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र थापा मगर लगायतको सहभागिता थियो।



