नेपालगन्ज। नेपालगन्जको भेरी अस्पतालमा जलन वार्ड र सर्जिकल विंगको औपचारिक सुरुवात भएको छ।
स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले आइतबार भेरी अस्पतालमा जलन वार्ड र सर्जिकल विंगको उद्घाटन गरेका हुन। योसँगै भेरी अस्पतालमा अब ६ शैयाको जलन वार्ड र १४ शैयाको सर्जिकल विंग सञ्चालन भएको छ।
अस्पतालमा जलन वार्ड र सर्जिकल विंगको उद्घाटन गर्दै स्वास्थ्यमन्त्री पौडेलले भेरी अस्पतालले आफ्ना सेवा विस्तारमा निरन्तर प्रगति गर्दै नागरिकलाई सेवाको पहुँचमा ल्याइरहेको बताए।
`भेरी अस्पतालले सेवा विस्तार गरेर नगरिकलाई सेवाको पहुँचमा ल्याएको छ, यो खुसीको कुरा हो, मन्त्रालयले अस्पताललाई आवश्यक सहयोग गर्छ।´ मन्त्री पौडेलले भने।
उनले मन्त्रालयले अस्पताललाई गर्नु पर्ने आवश्यक सहयोग गर्न तयार रहेको भन्दै निरन्तर जनताको सेवामा प्रतिबद्ध हुन अस्पतालमा कार्यरत चिकित्सक तथा कर्मचारीहरुलाई आग्रहसमेत गरे।
अस्पतालमा जलन वार्ड र सर्जिकल विंगको सुरुवात भएसँगै जलनबाट प्रभावित बिरामीको उपचारमा सहज हुने अपेक्षा गरिएको छ।

सिकलसेल र थालसिमियाका बिरामीका लागि खोप हस्तान्तरण
कार्यक्रममा मन्त्री पौडेलले सिकलसेल एनिमिया र थालसिमिया रोगीहरूलाई संक्रामक रोगबाट जोगाउने निःशुल्क खोप समेत हस्तान्तरण गरेका छन्।
सो खोप मन्त्री पौडेलको पहलपछि भारत सरकारको सहयोगमा उपलब्ध भएको थियो। थारु समुदायमा यो रोग प्रमुख स्वास्थ्य समस्याका रुपमा छ। सो खोप लगाएपछि बिरामीको प्रतिरोधी क्षमता वृद्धि हुने चिकित्सकहरू बताउँछन।
मन्त्री पौडेलले थारु समुदायले वंशाणुगत रुपमा समस्या भोग्दै आएको यो रोगको उपचार सहज बनाउन यसै वर्ष राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान तथा भेरी अस्पताल नेपालगञ्जमा बेग्लै वार्ड स्थापना गराउने निर्णय गरेका थिए।

थारु समुदाय बहुल बसोबास रहेको बाँके, बर्दिया, कैलाली तथा दाङका बिरामीहरुमाझ भ्याक्सिन वितरण गर्ने तयारी मन्त्रालयको छ।
सो भयाक्सिन भेरी अस्पताल, सेती प्रादेशिक अस्पताल, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानसँगै टिकापुर अस्पताल लगायतका संघीय, प्रदेश तथा पालिकास्तरका अस्पतालमा समेत बिरामीहरुका लागि उपलब्ध गराउने गरी तयारी मन्त्रालयको छ।
‘थारु जनसंख्याको प्रमुख स्वास्थ्य समस्या सिकलसेल तथा थालिसिमियाको उपचारका लागि यथासम्भव प्रयास भैरहेको थियो,’ मन्त्री पौडेलले भने, ‘बेग्लै वार्ड स्थापना गरेर उपचारको व्यवस्था गरेका थियौं। प्राप्त औषधीले उपचारमा ठूलो राहत पुग्ने आशा छ।’
यो रोगका कारण बिरामीहरुको प्रतिरोध क्षमता कमजोर भएर निमोनिया, मेनिन्जाइटिस लगायतका रोग लाग्ने जोखिम उच्च रहेकाले जोगिन भ्याक्सिन नै सबैभन्दा उपयुुक्त उपाय रहेको बताइन्छ।
भेरी अस्पतालको सेवा विस्तार तथा उद्घाटन समारोहलाई सम्बोधन गर्दै स्वास्थ्य मन्त्रालयका सचिव डा विकास देवकोटाले जनशक्ती र उपकरण व्यवस्थापनमा मन्त्रालयले काम गरिरहेको बताए।
अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा.निराजन सुवेदीले पछिल्लो चार महिनामा अस्पतालमा १३ वटा सेवा विस्तार भएको भन्दै भएका सुधार र उपलब्धिबारे जानकारी गराएका थिए। कार्यक्रम अस्पताल विकास समितिका अध्यक्ष वीरेन्द्र बहादुर शाहको सभापतित्वमा सम्पन्न भएको थियो।




