सिरहा। सिराहास्थित प्रादेशिक अस्पतालमा सेवाग्राहीले हैरानी भोग्नुपरेको भन्दै स्थानीयले अस्पताल प्रमुखलाई तीनदिने ‘अल्टिमेटम’ सहितको १९ बुँदे मागपत्र बुझाएका छन।
स्थानीय जनप्रतिनिधिको अगुवाइमा युवाहरूले सोमबार अस्पताल प्रमुखलाई तीनदिने ‘अल्टिमेटम’ सहितको १९ बुँदे मागपत्र बुझाएका हुन।
उनीहरूले सेवा प्रवाह, चिकित्सकको नियमित उपस्थिति, अस्पताल फार्मेसीको औषधि वितरण र मौज्दात विवरण सार्वजनिक गरिनुपर्नेलगायत माग अघि सारेका छन।
सिराहा नगरपालिका–६ का वडाध्यक्ष इन्द्रजित यादवले अस्पताल प्रशासनलाई पटकपटक मौखिक तथा लिखित रूपमा ध्यानाकर्षण गराउँदा पनि अस्पताल प्रशासनले नसुनेका कारणले बाध्य भएर विरोधमा उत्रनुपरेको जानकारी दिए।
“हामीलेअस्पताल सुधारका लागि पटकपटक प्रशासनलाई ध्यानाकर्षण गरायौँ, तर मेडिकल सुपरिटेन्डेन्ट र अस्पताल विकास समितिका अध्यक्षले अस्पतालको गतिविधिमा अनियमितता, बिरामीले पाउनुपर्ने सेवा सुविधा, औषधि खरिद र वितरणमा कैफियत रोकिएन।´ यादवले भने।
सेवाग्राहीको निरन्तरको गुनासोपछि अल्टिमेटमसहित मागपत्र बुझाइएको भन्दै उनले माग सम्बोधन नभए तीन दिनपछि सशक्त विरोधका कार्यक्रम सार्वजनिक गरिने जानकारी दिए।
मागपत्रमा पछिल्लो तीन आर्थिक वर्षमा अस्पतालबाट खरिद गरिएका औषधिको हिसाब, बिरामीलाई वितरण भएको औषधिको विवरण, म्याद सकिएका औषधि, खरिद गरिएका प्रयोगशालाका सामानको हिसाब विवरण सार्वजनिक गर्न आग्रह गरिएको छ।
त्यसैगरी, आमा सुरक्षा कार्यक्रम, एकद्वार सङ्कट व्यवस्थापन केन्द्र (ओसिएमसी)मार्फत सेवा लिएका बिरामीको विवरण र भएको खर्च, अस्पतालमा कार्यरत सम्पूर्ण कर्मचारीको नामावली र नियुक्तिसँग सम्बन्धित कागजात, अस्पतालका विभिन्न उपकरण खरिद बिक्रीमा रकम हिनामिना भएको जनाउँदै हरहिसाब मागिएको छ।
अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी तथा कर्मचारीको तलबभत्ता हरेक महिना दिने व्यवस्था गर्नुपर्ने, अस्पतालमा कार्यरत हरेक कर्मचारीको ड्रेस कोडको व्यवस्था हुनुपर्ने, सरसफाइ तथा सम्पूर्ण कर्मचारीको नामावली र समयतालिकासहित सूचनापाटीमा टाँस्नुपर्ने माग गरेका छन्।
मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले ४ वैशाखको राति अस्पताल अनुगमन गरेर फर्किएको चौथो दिन स्थानीय युवाहरूले अस्पताल सुधारको माग गर्दै तीनदिने अल्टिमेटमसहित मागपत्र बुझाएका हुन्। मुख्यमन्त्रीले अनुगमनका नाममा अस्पतालको भौतिक पूर्वाधार, रजिस्ट्रारलगायत सम्बन्धित कागजातमात्र हेरेर फर्किएको गुनासो युवाहरूले गरेका छन्।



