काठमाडौं। खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले खाद्य पदार्थमा औद्योगिक ट्रान्स फ्याट परीक्षण तथा नियमन गर्ने भएको छ।
२०८० माघ २५ गते नै औद्योगिक ट्रान्स फ्याटको अधिकतम मात्रा निर्धारण भएर राजपत्रमा सार्वजनिक भइसकेको छ भने २०८१ साउन २२ बाट लागू भैसकेको छ।
हाल ब्यवस्थापकीय काम सम्पन्न भएपछि बिभागले खाद्य पदार्थमा औद्योगिक ट्रान्स फ्याट परीक्षण तथा नियमन गर्ने भएको हो। अब बिभागमा नै यस सम्बन्धि आवश्यक परीक्षण हुनेछ।
गत वर्षको साउन २५ गते नेपाल राजपत्रको खण्ड ७३, सङ्ख्या ५३ नेपाल राजपत्र भाग ५ मा प्रकाशित सुचना अनुसार खाद्य पदार्थमा औद्योगिक ट्रान्स फ्याटको अधिकतम सीमा अनिवार्य गुणस्तर मापदण्ड ०२.१८ हुनुपर्छ।
हाइड्रोजिनेसन विधिद्वारा तयार गरिएको वनस्पति घ्यू तथा आंशिक रूपमा हाइड्रोजिनेसन गरिएको वनस्पति तेल तयार गर्दा उत्पन्न हुने औद्योगिक ट्रान्स फ्याट र यस्ता पदार्थ प्रयोग गरी उत्पादन, सञ्चय वा विक्री वितरण गरिने खाद्य पदार्थमा औद्योगिक ट्रान्स फ्याटको मात्रा उक्त खाद्य पदार्थमा रहेको कुल चिल्लो पदार्थको तौलको २ प्रतिशतभन्दा नबढेको हुनुपर्ने मापदण्ड निर्धारण गरिएको छ।
सो खाद्य पदार्थको लेबलमा ऐन नियम बमोजिम लगाउने लेबल विवरण साथै अनिवार्य रूपमा ट्रान्स फ्याटको मात्रा समेत उल्लेख गर्नुपर्ने प्रावधान छ। लेबलमा ट्रान्सफ्याट रहित भनी दावी गर्न खाद्य पदार्थमा रहेको चिल्लो पदार्थमा ट्रान्स फ्याटको मात्रा ०.२ ग्राम प्रति १०० ग्राम चिल्लो पदार्थको तौल भन्दा कम हुनुपर्ने व्यवस्था रहेको छ।
दुई प्रतिशतभन्दा बढी ट्रान्स फ्याट भएको खाद्य पदार्थ नियमित प्रयोगले मानव स्वास्थ्यलाई हानी पुर्याउने हुँदा सम्पूर्ण खाद्य उत्पादक, आयातकर्ता, सञ्चयकर्ता तथा बिक्री वितरणकर्ताहरूलाई खाद्य पदार्थमा औद्योगिक ट्रान्स फ्याटको अधिकतम सीमा सम्बन्धी मापदण्ड पालन गर्न समेत विभागका प्रवक्ता मोहनकृष्ण महर्जनले आग्रह गरे।
सो मापदण्ड पालना नगरेमा खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ बमोजिम कारबाही हुने महर्जनको भनाइ छ।



