काठमाडौं। नेपाल मोबाईल ब्यवसायी महासंघले सातै प्रदेशका मुख्यमन्त्रीलाई ब्यवसायीका समस्या समाधानको माग गर्दै ज्ञापनपत्र बुझाएको छ।
महासंघका प्रदेश संरचनामा रहेका अध्यक्षहरुको नेतृत्वमा सातै प्रदेशका मुख्यमन्त्रीहरुलाई ज्ञापनपत्र बुझाइएको केन्द्रीय अध्यक्ष भरत भट्टराईले जानकारी दिए।
महासंघले कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशका मुख्यमन्त्री समक्ष ज्ञापनपत्र बुझाएको हो।
कोशी प्रदेश अध्यक्ष जीवन शाक्यका अनुसार कोशीमा मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई भेटेरै ज्ञापनपत्र बुझाइएको छ।
यस्तै मधेस प्रदेश अध्यक्ष मोहन कार्कीका अनुसार मुख्यमन्त्री कार्यालयमा ज्ञापनपत्र बुझाइएको छ।
बागमती प्रदेशमा पनि मुख्यमन्त्री कार्यालयमा ज्ञापनपत्र बुझाइएको अध्यक्ष एसिस रिजालले जानकारी दिए।
यस्तै गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली र सुदुरपश्चिम प्रदेशका मुख्यमन्त्रीलाई ज्ञापनपत्र बुझाइएको छ।
महासंघले ब्यवसायीको समस्या समाधानको माग गर्दै हिजो मंगलबार ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएका थिए।
महासंघले पुराना मोबाइल खरिदबिक्री तथा मर्मतका समयमा प्रहरी प्रसाशनबाट दु:ख भोग्नु परेको तथा मोबाइल लक अनलकमासमेत बिनाकारण ब्यवसायी फस्ने गरेको भन्दै झन्झट मुक्त वातावरणको माग गर्दै मुख्यमन्त्री र प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाइएको हो।
महासंघका केन्द्रीय उपाध्यक्ष तथा पुराना फोन खरिदबिक्री सम्बन्धि नीति निर्माण कार्यदलका संयोजक छतेन्द्र आचार्यका अनुसार प्रदेशको नेतृत्वमा रहेका मुख्यमन्त्री र ७७ जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाइएको हो।
यसैगरी गृहमन्त्री र गृहसचिवलाईसमेत केही दिनमा नै महासंघ केन्द्रले बनाएको ब्यवसायी-सुरक्षा निकायबिचको सहकार्यसम्बन्धी ड्राफ्ट बुझाउने कार्यक्रम छ। सो ड्राफ्ट ब्यवहारमा कार्यान्वयन हुँदा ब्यवसायी र प्रहरीबिच सहकार्य गरेरै समस्या समाधानमा बाटो खुल्ने महासंघको दाबी छ।




