काठमाडौँ। भ्रमणका लागि पोखरा पुगेका पूर्वराजा ज्ञानेन्द्र शाह पोखराबाट आज काठमाडौँ फर्किदैं छन्। एक साताको पोखरा बसाईपछि उनी हवाइमार्ग हुँदै काठमाडौं फर्किन लागेका हुन।
आइतबार (आज) दिउसो उनी आन्तरिक टर्मिनल हुँदै काठमाडौं उत्रने तयारी भैरहँदा काठमाडौंमा भिभिन्न राजनीतिक दल तथा समुहहरुले पूर्वराजा शाहलाई भब्य स्वागत गर्ने तयारी गरिरहेका छन। उनको स्वागतका लागि काठमाडौ, भक्तपुर तथा ललितपुरका विभिन्न स्थानबाट र्याली तथा जुलुस नै निस्किंदै छ।
राप्रपा, राप्रपा नेपाल, दुर्गा प्रसाईँ समूह लगायतले आज विमास्थलमा पूर्वराजालाई स्वागत गर्ने भन्दै तयारी थालेका छन। राप्रपाबाट स्वागतका लागि ज्ञानेन्द्र शाहीले नेतृत्व गरिरहेका छन।
शाह विमानस्थलबाट महाराजगञ्जस्थित निर्मल निवास जानेछन्। उनलाई दुबैतर्फ सडकमा समर्थकहरुले स्वागत गर्ने बताइएको छ। यस्तै शाहलाई निर्मल निवाससम्म नै पुर्याउने समर्थकहरुको तयारी छ।
शाहको स्वागतका लागि राप्रपा, राप्रपा नेपालसहितका केही दलले आफ्ना नेता कार्यकर्ता तथा समर्थक हरुलाई राष्ट्रिय झण्डा, फूलमाला र शाहको तस्वीर अंकित ब्यानर एवम् पम्प्लेटसहित उपस्थित हुन सर्कुलर नै गरेका छन।
राप्रपा र राप्रपा नेपालबाहेक अनिल बस्नेत नेतृत्वको शिव सेना नेपाल, दुर्गा प्रसाईं नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाउ महाअभियान, प्रसाईं समर्थित नागरिक प्रतिरक्षा बल (पीडीएफ), राष्ट्र शक्ति नेपाल, नेवाः एकता तथा नागरिक समाज लगायत पनि पूर्वराजा शाहको स्वागतमा सडकमा उत्रिने तयारीमा छन्।
सुरक्षा निकायले भने अवस्थाको विश्लेषण गर्दै काठमाडौंको सुरक्षा ब्यवस्था कडा बनाएका छन। हुलहुज्जतपूर्ण, गैरकानूनी तथा सामाजिक मर्यादाविपरीतका कार्य हुन नदिन सुरक्षाकर्मीलाई ‘हाई अलर्ट’मा राखिएको छ।
प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलदेखि महाराजगञ्जस्थित निर्मल निवाससम्मको क्षेत्रलाई उच्च सुरक्षा संवेदनशील मान्दै सुरक्षा व्यवस्था कडा पारिएको जनाएको छ।
गृह मन्त्रालयले यसअघि नै १० हजार जनासम्म ब्यक्तिहरु सडकमा आउन सक्ने आँकलन गर्दै सुरक्षा व्यवस्था मिलाउन मातहतका निकायहरुलाई निर्देशन दिइसकेको छ।



