मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

बाढीमा छोरा–बुहारी गुमाए, नातिनातिनीको जिम्मा सरकारले लियो

बाढीमा छोरा–बुहारी गुमाए, नातिनातिनीको जिम्मा सरकारले लियो

images
२०८३ आश्विन १४ गते, बुधवार
२०८३ आश्विन १४ गते, बुधवार
  • काठमाडौं। नुवाकोटमा आएको विनाशकारी बाढीले बाजुराका यी वृद्धबाट छोरा र बुहारी मात्रै खोसेन, बुढेसकालको सबैभन्दा ठूलो सहारा नै खोस्यो। तर, उनको काखमा रहेका तीन जना नाबालक नातिनातिनीको भविष्य अब सरकारले सम्हाल्ने भएको छ।

    images

    परिवारको गुजारा चलाउन मजदुरी गर्न नुवाकोट पुगेका छोरा–बुहारी बाढीमा बेपत्ता भएपछि उनी एकैपटक सहाराविहीन बने। घर फर्कने बाटो हेर्दै गरेका तीन जना नाबालक नातिनातिनीलाई कसरी हुर्काउने, पढाउने र भविष्य सुरक्षित गर्ने भन्ने चिन्ताले उनलाई थप पीडामा पारेको थियो।

    images

    त्यही पीडाबीच अहिले उनका लागि आशाको खबर आएको छ। महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयको दीर्घकालीन स्याहार योजनाअन्तर्गत ‘बाढी प्रभावित विशेष संरक्षणको आवश्यकता भएका बालबालिकाको दीर्घकालीन स्याहार योजना’मा तीनै जना बालबालिकालाई समेटिएको छ। यससम्बन्धी सम्झौता राष्ट्रिय बाल अधिकार परिषद्मा गरिएको हो।

    योजनाअन्तर्गत तीनै जना बालबालिकाको १८ वर्षको उमेरसम्म शिक्षा, पालनपोषण, संरक्षण तथा आवश्यक हेरचाहको जिम्मेवारी सरकारले लिनेछ। आमाबुबा गुमाएका र विशेष संरक्षणको आवश्यकता भएका बालबालिकालाई सुरक्षित वातावरणमा हुर्काउँदै उनीहरूको भविष्य सुनिश्चित गर्ने उद्देश्यले मन्त्रालयले यो व्यवस्था अघि बढाएको हो।

    नातिनातिनीको भविष्य सुरक्षित हुने खबर सुनेपछि वृद्धका आँखामा पीडासँगै खुसीका आँसु देखिए। उनले भावुक हुँदै भने, “छोरा–बुहारी गुमाएँ, त्यो पीडा कहिल्यै भुल्न सक्दिनँ। तर मेरा नातिनातिनीको भविष्य सुरक्षित हुने भयो। अब उनीहरू पढ्न पाउनेछन्, राम्रोसँग हुर्किन पाउनेछन्। नेपाल सरकारलाई धेरै–धेरै धन्यवाद।”

    बाढीले अभिभावक खोस्यो, तर बालबालिकाको भविष्य खोस्न सकेन। बुढेसकालको सहारा गुमाएका ती वृद्धका लागि अब तीन नातिनातिनीको भविष्यको चिन्ता एक्लै बोक्नुपर्ने छैन।

    राज्यले उनीहरूको शिक्षा, संरक्षण र भविष्य निर्माणको जिम्मेवारी लिएसँगै विपद्को अँध्यारोबीच यी तीन बालबालिकाको जीवनमा आशाको नयाँ उज्यालो थपिएको छ।

    गत भदौ ३१ गते बसेको मन्त्रीपरिषद् बैठकले नुवाकोट र रसुवाका स्थानीय तह तथा शिक्षा क्षेत्रका निकायसँग समन्वय गरी बाबुआमा दुवै वा एक जना अभिभावक गुमाएका बालबालिकाको जिम्मा लिने निर्णय गर्दै विवरण माग गर्ने निर्णय गरेको थियो।

     

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend