काठमाडौँ। विश्वविद्यालय तथा स्वास्थ्य विज्ञान प्रतिष्ठानको कुलपति प्रधानमन्त्री नभइ अन्य प्राज्ञिक ब्यक्तिलाई बनाउनु पर्ने बहस भइरहेका बेला मधेसमा स्थापना हुने रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानको कुलपति भने प्रधानमन्त्री नै हुने ब्यवस्था प्रस्ताव गरिएको छ।
राजनीतिक ब्यक्ति विश्वविद्यालयको कुलपति हुँदा प्राज्ञिक क्षेत्रमा असर परेको भन्दै कुलपति प्राज्ञिक ब्यक्तिलाई बनाउनु पर्ने बहस हुँदै आइरहेको छ। तर वर्तमान सरकारले प्राज्ञिक थलोको चासोलाई बेवास्ता गर्दै प्रधानमन्त्रीलाई नै कुलपति बनाउने गरेर अघि बढेको हो।
प्रतिनिधिसभामा स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले हालै प्रस्तुत गरेको रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापना गर्न बनेको विधेयक-२०८३ मा सो ब्यवस्था प्रस्ताव गरिएको छ। उक्त विधेयकको दफा १७ मा प्रधानमन्त्री प्रतिष्ठानको कुलपति हुने व्यवस्था गरिएको उल्लेख छ।
सो दफामा उल्लेख भए अनुसार कुलपति प्रतिष्ठानको प्रमुख हुने तथा कुलपतिले प्रतिष्ठानको निरीक्षण गर्न र निर्देशन दिन सक्ने ब्यवस्था प्रस्ताव गरिएको छ।

यसैगरी विधेयकमा स्वास्थ्य मन्त्री वा राज्यमन्त्री प्रतिष्ठानको सहकुलपति हुने प्रस्ताव छ। सहकुलपतिले आवश्यकता अनुसार प्रतिष्ठानको निरीक्षण गर्न र प्रतिष्ठानलाई निर्देशन दिन सक्ने प्रस्ताव विधेयकमा गरिएको छ।
यस्तै प्रतिष्ठानको उपकुलपति प्रमुख पदाधिकारी हुने विधेयकमा प्रस्ताव छ। जसले प्रतिष्ठानमा पूरा समय काम गर्नेसहित योग्यताको विषयसमेत प्रस्ताव गरिएको छ। उपकुलपतिको काम, कर्तव्य र अधिकारमा सभाको निर्णय, निर्देशन कार्यान्वयन गर्ने गराउने, प्रतिष्ठानका सबै काम कारबाही उपर सामान्य नियन्त्रण र रेखदेख गर्ने लगायतका विषय प्रस्ताव छ।
उपकुलपतिको योग्यताका विषयमा भने मान्यताप्राप्त शिक्षण संस्थाबाट चिकित्सा शिक्षा विषयमा कम्तीमा स्नातकोत्तर तहको उपाधि प्राप्त गरेको र कुनै विश्वविद्यालय वा शिक्षण संस्थाको प्राध्यापक पदमा रही कम्तीमा पाँच वर्ष काम गरेको हुनुपर्ने प्रस्ताव विधेयकमा छ। पदावधि भने चार वर्ष प्रस्ताव छ। यस्तै एक पटक पुन: नियुक्त हुन सक्ने प्रस्ताव विधेयकमा उल्लेख छ।
यसैगरी उमेरका हकमा ३५ वर्ष उमेर पूरा भएको र नियुक्ति हुँदाको बखत ६५ वर्ष ननाघेको तथा सार्वजनिक पदमा नियुक्तिका लागि प्रचलित कानुन बमोजिम अयोग्य नभएको हुनुपर्ने प्रस्ताव विधेयकमा गरिएको छ।
प्रस्तावमा उपकुलपति नियुक्तिका लागि सिफारिस गर्न कुलपतिले सहकुलपतिको अध्यक्षतामा अन्य दुई जना सदस्य रहेको एक समिति गठन गर्ने र सो समितिको सिफारिसमा कुलपतिले उपकुलपतिको नियुक्ति गर्ने प्रस्ताव विधेयकमा उल्लेख छ।
गुणस्तरीय स्वास्थ्य सेवामा सहज, सुलभ, र समान पहुँच सुनिश्चित गर्ने, स्वास्थ्य सेवालाई सर्वसुलभ र गुणस्तरीय बनाउन स्वास्थ्य अनुसन्धानमा जोड दिँदै स्वास्थ्य संस्था र स्वास्थ्यकर्मीको संख्या वृद्धि गर्दै जाने गरी विधेयक ल्याएको स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले जनाएको छ।
प्रतिष्ठान स्थापनाका लागि रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान पूर्वाधार तयारी विकास समिति (गठन) आदेश, २०८० जारी भइ पूर्वाधारको कार्यसमेत भइरहेको छ। सरकारले प्रादेशिक सन्तुलन कायम गर्न मधेस प्रदेशमा प्रतिष्ठान स्थापना अघि बढाएको मन्त्रालयले जनाएको छ।
विधेयकमा प्रतिष्ठानको केन्द्रीय कार्यालय सप्तरी जिल्लाको राजविराज नगरपालिकामा रहने प्रस्ताव छ।
प्रतिष्ठानलाई अंग्रेजी भाषामा `रामराजा प्रसाद सिंह एकेडेमी अफ हेल्थ साइन्सेज भनिने´ प्रस्ताव छ।




