काठमाडौं। सरकारले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सचिवमा डा. विकास देवकोटालाई नियुक्त गरेको छ।
बुधबार साँझ बसेकाे मन्त्रिपरिषद बैठकले डा. देवकोटालाई स्वास्थ्य मन्त्रालयको सचिवमा नियुक्त गर्ने निर्णय गरेको हो।
स्वास्थ्य सचिवका लागि तीन जनाको नाम सिफारिस भएको थियो। लोक सेवा आयोगका अध्यक्षको नेतृत्वमा रहेको सिफारिस समितिले सचिवका लागि डा. देवकोटासहित स्वास्थ्य मन्त्रालयमा १२औं तहमा रहेका डा. संगिता मिश्र र डा. टंक बाराकोटीको नाम सिफारिस गरेको थियो। देवकोटा हाल स्वास्थ्य सेवा विभागको महानिर्देशक छन।
सिफारिसमा परेका तीन जनामध्ये मन्त्रिपरिषदले डा. देवकोटालाई सचिवमा नियुक्त गरेको एक मन्त्रीले जानकारी दिए। देवकोटा केही समय अघि मात्र अतिरिक्त सचिवमा बढुवा भएका थिए भने उनलाई विभागको महानिर्देशक बनाइएको थियो।
देवकोटासँग स्वास्थ्य सेवामा २८ वर्ष काम गरेको अनुभव छ। उनी २०५३ सालमा सेवा प्रवेश गरी २०७९ चैत १३ गते १२औँ तह अर्थात् अतिरिक्त सचिवमा बढुवा भएका थिए। उनी कोरोनाको समयमा मन्त्रालयको प्रवक्ताको जिम्मेवारीमासमेत थिए।
यस्तै उनी १२औँ तहमा बढुवा हुनुअघि लुम्बीनी प्रदेशको स्वास्थ्यसचिव थिए। २०८१ असोज ६ देखि उनी विभागको महानिर्देशकको जिम्मेवारीमा छन्।



