काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले तेस्रो नेपाल–जापान फ्रेन्डसिप समिट–२०२५ का माध्यमबाट दुई देशबीचको सम्बन्ध अझ विस्तार गर्न टेवा पुुग्ने बताएका छन।
सो समिटमा सहभागी हुन नेपाल आएका जापानी टोली र नेपाली समन्वयकर्ताहरुसँग आज प्रधानमन्त्री निवास, बालुवाटारमा भएको भेटमा प्रधानमन्त्री ओलीले नेपाल र जापानबीच सरकार–सरकार र जनता–जनताबीचको लामो सम्बन्ध अब आयात–निर्यातमा पनि विकसित हुन थालेको बताए।
“नेपालीहरु राम्रो रोजगारीका लागि जापान पनि गएका छन्, नेपालको फापर जापान पुुगेको छ, जापानबाट गोल्डेन ट्राउड नेपाल भित्रिएको छ, जनस्तरका यस्ता अशल सम्बन्धका अनेक आयामहरु छन्।’’, प्रधानमन्त्री ओलीले भने, “हामीबीच अबल मित्रता छ, खाली मित्रताबाहेक अरु केही छैन, हाम्रो सम्बन्ध साकुराजस्तै लटरम्म भएर फुलेको छ, समस्यारहित यो सम्बन्ध तथा विकासको साझेदारीलाई सूूचना प्रविधिको सहयोगमा उचाइका साथ अगाडि बढाउनुपरेको छ।’’
प्रधानमन्त्री ओलीले युद्धले विनास र शान्तिले विकास दिन्छ भन्ने उदाहरण जापानले प्रस्तुत गरेको उल्लेख गर्दै विश्वमा शान्ति छाओस् भन्ने आफूहरुको प्रबल इच्छा र सक्रिय प्रयास रहेको भनाइ राखे।
गत एक दशकभन्दा बढी समयदेखि उद्यमशीलता प्रवर्द्धन र व्यवसायिक मार्गदर्शनमा सक्रिय रहेको आइडिया स्टुडियो नेपालअन्तर्गतको समूूहद्वारा सञ्चालित लिडएक्स नेपाल र फोर्थ लिभाएको आयोजनामा यही फागुुन १४ देखि १६ गतेसम्म नेपालमा समिट आयोजना गरिएको हो ।



