हेटौंडा। बागमती प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री सुरजचन्द्र लामिछानेले नेपालमा अवैध रुपमा भैरहेको सेकेण्ड ह्याण्ड मोबाइलको कारोबारलाई ब्यवस्थित बनाउन सकिने बताएका छन।
मोबाइल एसोसियसन अफ नेपाल मकवानपुरको सातौं अधिवेशनबाट निर्वाचित कार्यसमितिको पदस्थापन कार्यक्रमलाई सम्बोधन गर्दै लामिछानेले सेकेन्ड ह्याण्ड कारोबारलाई विदेशमा जस्तै ब्यवस्थित बनाउन सकिने बताएका हुन।
`देशका युवा पलायन भैरहेका छन, मोबाइल ब्यवसायले धेरैलाई पलायन हुनबाट रोकेको छ, धेरैले रोजगारी पाएका छन, सेकेन्ड ह्यान्ड मोबाइलको कारोबारमा ब्यवसायीले समस्या भोगेका छन,´ लामिछानेले भने,`सरकारले सेकेन्ड ह्यान्ड मोबाइलको कारोबारलाई करको दायरामा ल्याएर ब्यवस्थित बनाउन सकिन्छ, विदेशका केही मुलुकमा यस्तै रहेछ।´

उनले मोबाइलको केही विषय अपराधसँग पनि जोडिने अवस्था रहेको बताए। देशको खुला नाकाका कारण चोरी निकासी हुन सक्ने भन्दै उनले ब्यवस्थापनको पाटोबाट कानुन बनाएरै त्यसको समाधान गर्नु पर्नेमा जोड दिएका हुन।
`संघीय संसदबाट सरकारले कानुन बनाउने हो, त्यसको कार्यान्वयन गर्ने काम प्रदेश सरकारको हो, कानुनी बाटो खोजेरै मोबाइल ब्यवसायीका समस्यालाई दीर्घकालीन रुपमा समाधान गर्न सकिन्छ र मोबाइलका कारण हुने चोरी तथा अन्य अपराधिक घटनालाई पनि नियन्त्रण गर्न सकिन्छ।´ बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री लामिछानेले सम्बोधनका क्रममा भने।
उनले प्रदेश सरकारको तर्फबाट पनि ब्यवसायीका मुद्दा समाधानमा आफू लाग्ने प्रतिबद्धता व्यक्त गर्दै स्थानीय प्रहरी प्रसाशनसँग स्थानीय ब्यवसायीका समस्या र मुद्दाका सन्दर्भमा छलफल गर्ने प्रतिबद्धता ब्यक्त गरे।
कार्यक्रममा महासंघका केन्द्रीय अध्यक्ष भरत भट्टराईले ब्यवसायीलाई सरकारले नीति बनाएर कारोबारमा सहजीकरण गरिदिनु पर्ने बताए।
उनले देशभरका मोबाइल ब्यवसायीले एउटै र उस्तै समस्या भोगिरहेको भन्दै ब्यवसायीलाई सहयोग गर्नु सरकारको दायित्व भएको बताए।

कार्यक्रममा नवनिर्वाचित अध्यक्ष हरिप्रसाद न्यौपाने `सागर´ लाई निवर्तमान अध्यक्ष नवराज चौलागाईंले पद हस्तान्तरण गरेका थिए। नवनिर्वाचित कार्यसमितिमा पदाधिकारी र सदस्यसहित १७ जना छन भने निर्वाचित कार्यसमितिको कार्यकाल दुई वर्ष हुनेछ।



