काठमाडौं। गत १०, ११ र १२ असोजमा आएको अविरल वर्षासँगै अबरुद्ध बनेको काठमाडौं-हेटौंडा सडक खण्डका सबै सडक संचालनमा आएको छ।
कान्तिलोकपथमा पर्ने बागमती खोलामा नेपाली सेनाले ह्युमपाइप राखेर अस्थायी बाटो बनाएपछि काठमाडौंबाट हेटौंडा जाने सबै सडक संचालनमा आएको हो। बागमती खोलामा ४ वटा ह्युमपाइप राखेर सेनाले सडक खुलाएको हो। यसअघि काठमाडौंबाट फाखेल, काठमाडौंबाट सिस्नेरी तथा चित्लाङ-पालुङहुँदै हेटौंडातर्फ जाने सडक सुचारु भएको थियो।
मकवानपुर र ललितपुर जोड्ने बगुवाको बागमती पुलमा अस्थायी सडक बनाएर कान्तिलोकपथ सञ्चालनमा ल्याइएको बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछानेले जानकारी दिए।
‘बागमतीमा ह्युमपाइप राखेर सडक खोलिएको छ, अस्थायी रुपमा सानासवारी संचालन गर्ने गरी भएपनि आवतजावत सुचारु भएको छ, कान्तिलोकपथ खुलेसँगै हेटौंडा पुग्ने सबै सडक खुल्यो, तर यात्रामा सावधानी अपनाउनु पर्ने अवस्था भने कायमै छ,’ लामिछानेले एक्सरेनेपालसँग भने।
बागमतीमा दुई स्थानमा करिब आठ सय मीटरको बाँध निर्माण गरी सडकलाई डाइभर्सन गरेर तीन सय मीटरको नयाँ ट्रयाक खोलिएको सेनाले जनाएको छ ।
मकवानपुर जिल्लामा पर्ने भीमफेदी गाउँपालिका-८ महादेवटार र ललितपुर जिल्ला अन्तर्गत वाग्मती गाउँपालिका-२ वगुवास्थित बागमती खोलामा रहेको पुलको केही भाग बाढीले बगाएपछि विगत १० दिनदेखि कान्तिलोकपथ अबरुद्ध थियो ।
हेटौंडा काठमाडौं छोटो दुरीको हेटौँडा-फाखेल-काठमाडौं र हेटौंडा-सिस्नेरी-काठमाडौं सडक तथा कान्तिलोकपमा अबरुद्ध सडकसमेत संचालनमा आएको बागमती प्रदेशको यातायात पूर्वाधार विकास निर्देशनालयका निर्देशक पुष्करप्रसाद पोखरेलले जानकारी दिए।
यससँगै हेटौंडा र काठमाडौंलाई जोड्ने आधा दर्जन मार्ग सबै सन्चालनमा आएका छन्। १२ असोजको बाढीले बागमती पुलको आधा भाग बगाएको थियो। ललितपुरतर्फको सडक यसअघि नै सुचारू भए पनि बागमती खोलामा पुल बगाएकाले कान्तिलोकपथ अवरुद्ध थियो ।



