मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

बाढीपहिरो प्रभावितलाई ड्रोनबाट राहत सामग्री

बाढीपहिरो प्रभावितलाई ड्रोनबाट राहत सामग्री

images
२०८१ आश्विन २१ गते, सोमवार
२०८१ आश्विन २१ गते, सोमवार
  • काभ्रे। गत ११ र १२ असोजका दिनमा आएको अबिरल वर्षापछि बाढी तथा पहिरोबाट प्रभावित बनेका स्थानीयलाई काभ्रेमा ड्रोनको सहायताले खाद्य सामग्री पठाउन थालिएको छ।

    images

    वर्षाका कारण ग्रामीण सडकसमेत अवरुद्ध भएपछि स्थानीयलाई खाद्यान्नलगायतका सामग्री पठाउन काभ्रेको पनौती नगरपालिकाको १२ नं वडास्थित एक गाउँमा ड्रोनको प्रयोग गरिएको छ।

    images

    आइतबारदेखि हाम्रो टिम नेपाल नामक संस्थाले ‘एयरलिफ्ट’ टेक्नोलोजीको सहकार्यमा वडा नम्बर १२ मा पर्ने मगरगाउँमा चामललगायत खाद्यान्न  सामग्री पठाउन थालेको हो। आइतबार परीक्षण गरी मगरगाउँमा केही मात्रामा चामल र अन्य सामग्री पठाइएको टिम नेपालका स्वयंसेवक परीक्षण हुमागाईँले बताए।

    उनका अनुसार आज सोमबार उक्त गाउँका लागि तयारी गरिएको  चामलसहितका अन्य सामग्री पठाइनेछ। भौगोलिक विकटता एवं ग्रामीण सडक अवरुद्ध भएपछि मगर गाउँका ८५ परिवारका लागि खाद्यान्न पठाउन ड्रोनको सहयता लिएको हो।

    बाढीपहिरोबाट पीडित सो गाउँका ८५ परिवारमा खाद्यान्नलगायत राहत सामग्री आवश्यक छ भन्ने खबर पाएपछि सडक नबन्दासम्म ड्रोनमार्फत पठाइने उपाय निकालिएको हुमागाईँले बताए। उनका अनुसार त्यस गाउँमा खाद्यान्न, बिजुली तथा पोषणको समस्या देखिएको छ। आज ड्रोनमार्फत चामल, सोलार बत्ती, नुन, तेल, मसला, सेनेटरी प्याड, बालबालिकाका लागि ल्याक्टोजिनलगायतको राहत सामग्री पठाइने हुमागाईँले बताए।

    पनौती बजारबाट मगर गाउँ पुग्ने सडक क्षतिग्रस्त भएकाले १२ नं वडास्थित भूमिडाँडाबाट ड्रोन उडाइ सामग्री पठाउन थालिएको हो । सामाजिक अभियन्तासमेत रहेका हुमागाईँका अनुसार ड्रोनमार्फत एकपटकमा ६५ किलोग्रामसम्म खाद्यान्न सामग्री ढुवानी गर्न सकिनेछ।

    ‘हावाको बहाव सामान्य रहे ६५ केजीसम्म राहत पठाउन सकिन्छ, नभए एकपटकमा २० किलोका दरले भए पनि राहत पठाउनेछौँ’, उनले भने। उनले आइतबार कानुनी प्रक्रिया पूरा गर्ने क्रममा सामग्री पठाउन ढिलो भएको बताउँदै आज ड्रोनमार्फत सामग्री पठाइने बताए।

    उनका अनुसार हाम्रो टिम नेपालले अन्य स्थान प्रभावित स्थानमासमेत प्राथमिकताका आधारमा ड्रोनमार्फत नै  खाद्यान्न सामग्री पठाउने योजना बनाएको छ। त्यसका लागि सबैभन्दा बढी क्षति भई सडक सम्पर्क नभएको बस्ती, घरपरिवारको तथ्याङ्क सङ्कलनसमेत भइरहेको हुमागाईँले बताए।

    गत साताको बाढीपहिरोका कारण काभ्रेमा हालसम्म मृत्यु हुनेको संख्या ७७ पुगेको छ। घटनामा ७५ जना घाइते भएका छन्। यो संख्या गत साताको विपद् परी देशभर मृत्यु हुने संख्यामध्ये ३१ दशमलव ५६ प्रतिशत हो। तथ्याङ्कअनुसार देशभर बाढीपहिरोबाट हालसम्म दुई सय ४४ जनाले ज्यान गुमाएका छन्। जिल्ला प्रहरी कार्यालय धुलिखेलका अनुसार काभ्रेमा ३३ महिला, २८ पुरुष, नौ बालक र सात बालिकाको मृत्यु भएको छ।

    सम्बन्धित विषय:
    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend