मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

काठमाडौँ महानगरले अब हुलाकबाट चिठ्ठी पठाउने : गोश्वारा हुलाकसँग सम्झौता

काठमाडौँ महानगरले अब हुलाकबाट चिठ्ठी पठाउने : गोश्वारा हुलाकसँग सम्झौता

images
२०८३ आश्विन १७ गते, शनिवार
२०८३ आश्विन १७ गते, शनिवार
  • काठमाडौँ। काठमाडौँ महानगरपालिकाले विभिन्न निकायसँग हुने पत्र व्यवहारलाई हुलाक मार्फत पठाउने भएको छ।

    images

    महानगरपालिकाले गोश्वारा हुलाक कार्यालय डिल्लीबजारसँग सम्झौता गरेर विभिन्न निकाय तथा व्यक्तिलाई पठाइने पत्र, प्रतिवेदन, निमन्त्रणा, प्रमाणपत्र तथा पार्सललगायत हुलाक वस्तु पठाउने भएको हो।

    images

    यो सेवाका लागि शुक्रबार महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मुक्तिराम अर्यालको रोहवरमा प्रशासन विभागका प्रमुख महेश काफ्ले र गोश्वारा हुलाक कार्यालय डिल्लीबजारका प्रमुख हुलाक अधिकृत ढालबहादुर जि. सी. ले सम्झौता पत्रमा हस्ताक्षर गरे।

    सम्झौता बमोजिम महानगरपालिकाबाट हुने पत्राचारलाई व्यवस्थित, सुरक्षित र तोकिएको समयभित्र सम्बन्धित प्राप्तकर्तासम्म पुर्याउन हुलाक सेवाको प्रयोग गरिनेछ।

    महानगरपालिकाका विभाग, महाशाखा, सचिवालय, एकाइ, आयोजनाबाट चलानी हुने पत्रलाई केन्द्रीय सम्पर्क एकाइमा संकलन गरिनेछ। यसरी प्राप्त भएका पत्रहरुलाई सम्बन्धित निकाय, जिम्मेवार पदाधिकारी वा कर्मचारीको ठेगाना र सम्पर्क विवरणसहित हुलाक कार्यालयलाई उपलब्ध गराइनेछ।

    हुलाक कार्यालयले महानगरबाट प्राप्त हुलाक वस्तु प्रणालीमा प्रविष्ट गरी वर्गीकरण गर्ने, पठाउने वा डेलिभरी एजेन्टमार्फत सम्बन्धित प्राप्तकर्तालाई बुझाउनेछ। वितरणपछि प्राप्त हुने भर्पाई महानगरपालिकालाई उपलब्ध गराउने र सेवाबापतको मासिक बिलसमेत पेश गर्ने व्यवस्था सम्झौतामा उल्लेख गरिएको छ।

    सम्झौताअनुसार महानगरपालिका क्षेत्रभित्र अत्यन्त जरुरी पत्र तथा हुलाक वस्तुका लागि ‘सेम डे’ (उही दिन) सेवा उपलब्ध हुनेछ। यस्तो सेवामा बढीमा दुई किलोग्रामसम्मका हुलाक वस्तु समावेश हुनेछन्।

    त्यसैगरी दुई किलोग्रामसम्मका पत्र वा अन्य सामानका लागि रजिस्ट्री सेवा तथा आवश्यकताअनुसार एक्सप्रेस मेल सर्भिस (इएमएस) र पार्सललगायतका अन्य सेवा प्रयोग गरिनेछ।

    महानगरपालिका क्षेत्रभित्र ‘सेम डे’ सेवाका हुलाक वस्तु सामान्यतः सोही दिन वितरण गरिनेछ। रजिस्ट्री तथा पार्सलतर्फका वस्तु अर्को दिन वितरण गर्ने व्यवस्था हुनेछ।

    काठमाडौँ महानगरपालिका क्षेत्रबाहेक काठमाडौँ जिल्लाका अन्य स्थानीय तह तथा ललितपुर र भक्तपुरका हकमा रजिस्ट्री सेवाअन्तर्गत अर्को दिन हस्तान्तरण गरी सम्भव भएसम्म सोही दिन वा अर्को दिन वितरण गरिने सम्झौतामा उल्लेख छ। अन्य जिल्लाका लागि प्रचलित हुलाक सेवाको डाँक सञ्चालन तालिकाअनुसार सेवा हुनेछ।

    सम्झौतामा हुलाक वस्तु हराउने, च्यातिने वा टुटफुट हुने जोखिम न्यूनीकरणका लागि महानगरपालिकाले सुरक्षित प्याकेजिङ गर्नुपर्ने र हुलाक कार्यालयले प्राप्तिदेखि वितरणसम्म उच्च सावधानी अपनाउनुपर्ने उल्लेख छ।

    प्राप्तकर्ताले वस्तु बुझ्न नमानेमा वा वितरण हुन नसकेमा सम्बन्धित हुलाक वस्तु महानगरपालिकाको सम्पर्क एकाईमा फिर्ता गर्नेछ। यो सम्झौता १ वर्षका लागि हुने बताइएको छ।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend