काठमाडौं। बाढीका कारण खानेपानीको समस्या झेलिरहेका धादिङको गल्छी गाउँपालिका–६ बैरेनीका १८० घरधुरीमा पुनः खानेपानी सेवा सञ्चालनमा आएको छ।
नेपाल रेडक्रस सोसाइटी धादिङ जिल्ला शाखाद्वारा सञ्चालित ‘रसुवा बाढी प्रतिकार्य कार्यक्रम’ अन्तर्गत महेशखोला–भट्टार–जिन्टेटार डिप बोरिङ खानेपानी मर्मत योजना सम्पन्न भएपछि स्थानीयवासीका घरघरमा पुनः खानेपानी पुगेको हो।
मर्मत कार्य सम्पन्न भएपछि आयोजित कार्यक्रममा गल्छी गाउँपालिकाका अध्यक्ष केदारनाथ खतिवडाले खानेपानी योजनाको सुभारम्भ गरेका हुन्।
कार्यक्रममा अध्यक्ष खतिवडाले बाढीपछि स्वच्छ खानेपानीको अभाव झेलिरहेका नागरिकलाई पुनः सहज रूपमा खानेपानी उपलब्ध गराउन रेडक्रसले गरेको मानवीय कार्यको प्रशंसा गर्दै पालिकाका लागि महत्वपूर्ण उपलब्धि भएको बताए।
खानेपानी योजना मर्मतका लागि नेपाल रेडक्रस सोसाइटीले रू. ४ लाख ४६ हजार ६ सय ८० आर्थिक सहयोग गरेको थियो। उक्त सहयोगबाट आवश्यक मर्मत तथा पुनःस्थापनाको काम सम्पन्न गरिएको हो। योजनाबाट गल्छी गाउँपालिका–६ बैरेनीका १८० घरधुरी प्रत्यक्ष रूपमा लाभान्वित भएका छन्।
कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी धादिङ जिल्ला शाखाका सभापति दुर्लभ कुमार तामाङ तथा बाढी प्रतिकार्य कार्यक्रमका कर्मचारीहरूको उपस्थिति रहेको थियो।



