धनगढी। सुदूरपश्चिम सरकारले सरकारी अस्पताल तथा स्वास्थ्य संस्थाको आसपास संचालनमा रहेका स्वास्थ्यसम्बन्धी निजी व्यवसायमाथि कडाइ गर्ने नीति लिएको छ।
सुदूरपश्चिम सरकारले सरकारी अस्पताल तथा स्वास्थ्य संस्थाको तीन सय मिटरसम्म कुनै पनि किसिमका निजी स्वास्थ्य जन्य ब्यवसाय संचालन गर्न नपाइने गरि अघि बढ्ने तयारी गरेको छ।
त्यसका लागि प्रदेशको सामाजिक विकास मन्त्रालयले सुदूरपश्चिम प्रदेश जनस्वास्थ्य सेवा ऐन, २०७६ को व्यवस्था कार्यान्वयन गर्ने गरि स्वास्थ्य निर्देशनालयलाई तत्काल प्रक्रिया अघि बढाउन निर्देशन दिइसकेको छ।
उक्त ऐनअनुसार सरकारी अस्पताल तथा स्वास्थ्य संस्थाको परिसरबाट तीन सय मिटरभित्र निजी अस्पताल, क्लिनिक, पोलिक्लिनिक, नर्सिङ होम, प्रयोगशाला लगायतका स्वास्थ्यसम्बन्धी निजी व्यवसाय सञ्चालन गर्न पाइने छैन।
हाल धनगढीस्थित सेती प्रादेशिक अस्पताल आसपासमै दर्जनौं निजी स्वास्थ्य संस्था सञ्चालनमा छन्। तीमध्ये कतिपय अनुमति बिनानै संचालनमा रहेको पाइएको छ।
स्वास्थ्य कार्यालय कैलालीले यसअघि पनि अस्पताल आसपास अनुमति बिना सञ्चालनमा रहेका स्वास्थ्य संस्थालाई कानुनी दायरामा ल्याउन पहल गरेको थियो। तर त्यतिबेला कार्यान्वयन फितलो बनेको थियो।
अहिले भने मन्त्रालयले सुदूरपश्चिम प्रदेश जनस्वास्थ्य सेवा ऐन, २०७६ को व्यवस्थालाई कडाइका साथ कार्यान्वयन गर्ने तयारी गरिरहेको छ। बिरामी तथा आफन्तबाट निरन्तर गुनासो आएपछि सरकार कडाइका लागि अघि बढेको हो। सरकारी अस्पताल आसपास संचालनमा रहेका निजी स्वास्थ्यजन्य ब्यवसायका कारण बिरामी तथा आफन्त बेलाबखत ठगिंदै आइरहेको गुनासो थियो।
अब सेती अस्पताल आसपास मात्र नभई कैलालीसहित सुदूरपश्चिमका अन्य सरकारी अस्पताल तथा स्वास्थ्य संस्थाको तीन सय मिटर क्षेत्रभित्र रहेका निजी स्वास्थ्य संस्थाको वैधानिकता जाँच तथा अनुगमन गरी आवश्यक कारबाही प्रक्रिया अघि बढाइने मन्त्रालयले जनाएको छ।



