स्याङ्जा। नेपाली कांग्रेसको आसन्न १५ औं महाधिवेशन अन्तर्गत स्याङ्जा क्षेत्र नं १ को क्षेत्रीय अधिवेशनमा उम्मेदवारहरूको नामावली प्रकाशन शैलीलाई लिएर अहिले राजनीतिक वृत्तमा रोचक मात्र होइन, गम्भीर बहस सुरु भएको छ।
अधिवेशनका क्रममा देखिएका आन्तरिक अभ्यासहरूले पार्टीभित्रको नेतृत्वको मानसिकता र संगठनात्मक संस्कृतिमाथि गम्भीर प्रश्न उब्जाएका छन्। विशेष गरी, उम्मेदवारको सूची निकाल्दा अपनाइएका तौरतरिका र त्यससँग जोडिएका दाबीहरूले लोकतान्त्रिक पार्टीभित्र कस्तो संस्कृति हुर्कंदैछ भन्ने छर्लङ्ग पारेको छ।
चुनावी मैदानमा देखिएका राजु थापा र भरत ढकालका टिमले अपनाएका आन्तरिक अभ्यासहरू पूर्णतया विपरीत र गतिलो अध्ययनको विषय बनेका छन्। पूर्व माननीय, तीन–तीन पटक चुनाव लडिसकेका र स्याङ्जा जिल्लाको सभापति भइसकेका अनुभवी व्यक्तित्व राजु थापाको टिमले नामहरू प्रस्तुत गर्दा विधिसम्मत रूपमा क्रम संख्या वा वर्णानुक्रम (अल्फाबेटिकल अर्डर) को प्रणालीगत आधारलाई प्राथमिकता दिएको देखिन्छ।
राजु थापा आफैंमा खारिएका नेता भए पनि, उनले टिम निर्माण गर्दा वा मनोनयन दर्ता गराउँदा प्रक्रिया र पद्धिलाई आत्मसात् गर्दै आफ्नो नामलाई विधिसम्मत ढङ्गले राखे। यस किसिमको शैलीले टिमभित्र सामूहिक भावना, नियम र संस्थागत मर्यादा कायम राख्न खोजेको प्रष्ट संकेत गर्छ।
यसको ठीक विपरीत, भरत ढकालको टिममा देखिएको प्रवृत्ति भने पुरानै सामन्ती ढर्रा र हास्यास्पद दाबीले ग्रसित छ। उनी यसअघि स्याङ्जा क्षेत्र नं १ बाट चुनाव लड्दा रास्वपा उम्मेदवारसँग फराकिलो अन्तरले पराजीत भएका थिए।
वर्णानुक्रमको नियम र क्रम संख्याको हिसाबले हेर्दा भ बाट आउने उनको नाम सूचीको पछाडि पर्नुपर्ने हो। तर, उनी स्वयं टिमको सभापति वा मुख्य नेता नभई एउटा टिमको मात्रै नेतृत्व गरिरहँदा पनि उनले ‘म टिम निर्माता हुँ, म चुनाव लडिसकेको व्यक्ति हुँ, त्यसैले म सिनियर हुँ र मेरो नाम पहिलो नम्बरमै हुनुपर्छ’ भन्ने अहम् राखे। नियम र वर्णानुक्रमले पछाडि पार्दापार्दै पनि उनले आफ्नो नाम जबरजस्ती अगाडि राखेर वितरण गरे।
अझ अनौठो र विडम्बनाको कुरा त यो छ कि, आफूलाई विशेष महाधिवेशन र गगन थापाको टिमको ठप्पै मसिहा वा मुख्य पात्र बताउने भरत ढकालको धरातल नै नभएको तथ्य बाहिर आएको छ।
उनी त्यो समयमा विशेष अधिवेशनमा हस्ताक्षर गर्ने हैसियतमा समेत थिएनन्— उनी कांग्रेसको साधारण क्रियाशील सदस्य मात्र थिए वा क्षेत्रीय प्रतिनिधि थिए भन्ने नै स्पष्ट छैन।
महाधिवेशन प्रतिनिधिको रूपमा विशेष अधिवेशनका लागि हस्ताक्षर गर्ने कानुनी वा साङ्गठनिक हैसियत नै नभएका व्यक्ति, पछि चुनावी माहोल तातिँदा टिकट बोकेर मात्र मैदानमा आएका हुन्। तर, क्षेत्रीय प्रतिनिधिहरूसँग भोट माग्ने क्रममा उनले आफूलाई विशेषको अवशेष वा मसिहा मै हुँ भन्दै सरासर झुटो र भ्रमपूर्ण दाबी गरेको समेत पाइएको छ। यो आफैंमा हास्यास्पद र राजनीतिक बेइमानी हो।
नाम अगाडि वा पछाडि हुनुले उम्मेदवारको वास्तविक धरातल, क्षमता वा योग्यतालाई फेरबदल गर्दैन। तर, म नै सर्वेसर्वा हुँ भन्ने सामन्ती मानसिकता, कृत्रिम इतिहास र व्यक्तिगत वर्चस्व देखाउने यस्ता प्रवृत्तिले लोकतान्त्रिक अभ्यासलाई भित्रैदेखि कमजोर बनाउँछ। पद र महत्वकांक्षाका लागि यतिसम्मको झुटको सहारा लिनुले उनी र उनको टिमको राजनीतिक चेतनाको स्तर कुन हदसम्म खस्किएको छ भन्ने प्रष्ट्याउँछ।
व्यक्तिगत वरियताको अहम् प्रदर्शन गर्नु र नभएको इतिहासको झुटो दाबी गर्नुभन्दा पारदर्शी, वैज्ञानिक र विधिसम्मत प्रणालीको अवलम्बन गर्नु नै आजको राजनीतिक संस्कृतिमा अपरिहार्य देखिन्छ। विधि र पद्धतिलाई तोडेर तथा झुटको खेती गरेर आफ्नो अहम् तुष्टि गर्ने प्रवृत्तिलाई समयमै चिर्न जरुरी छ। यस विषयमा सही र गलत छुट्याउने जिम्मा अब सबै पाठक तथा सचेत नागरिकहरूको काँधमा आएको छ।




