बागलुङ। बागलुङमा पहिरोमा परेर तीन वर्षिय बालकदेखि ८० वर्षका बृद्धसम्म गरेर १० जनाले ज्यान गुमाएका छन्।
आइतबार बागलुङको तमानखोला गाउँपालिका-३ र ४ मा गरेर ४ जनाको मृत्यु भएको थियो भने एक जना बेपत्ता छन्। यस्तै निसीखोला गाउँपालिका-३ मा पहिरोमा परेर ४ जनाको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी प्रमुख फणिन्द्र प्रसाईँका अनुसार वर्षाका कारण आइतबार मात्रै ९ जनाको मृत्यु भएको थियो भने एक जना बेपत्ता भएका थिए। यस्तै शनिबार १ जनाको मृत्यु भएको थियो।
तमानखोला गाउँपालिका–३ धर्नासुकमा पहिरोले घर पुरिँदा ८० वर्षीय बुद्धिराज घर्ती र ६६ वर्षीया भीमदेवी घर्तीको मृत्यु भएको हो। सोही स्थानमा पहिरोले ८ घर बगाएको छ।
यसैगरी सोही गाउँपालिकाको वडा नम्बर ४ सन्तरमा पहिरोले घर पुरिँदा ५० वर्षीय हस्तवीर श्रीपाली र ६५ वर्षीया उडिसरा श्रीपालीको मृत्यु भएको हो। हस्तवीरकी श्रीमती पहिरोमा परी बेपत्ता छिन्।
यसैगरी निसीखोला गाउँपालिका–३ जुग्जाखोलाको हदधारामा पहिरोले घर पुरिँदा एकै परिवारका ४ जनाको मृत्यु भएको हो। मृत्यु हुनेमा ३६ वर्षीया श्यामकुमारी विक, उनका छोरा १३ वर्षीय मनोज, ८ वर्षीय मुकेश र ३ वर्षीय निशान विक छन्।
यस्तै, निसीखोला गाउँपालिका–६ रङ्गिलमा पहिरोले गोठ पुरिँदा ५० वर्षीय सूर्यबहादुर घर्तीको मृत्यु भएको थियो भने ताराखोला गाउँपालिका–५ धस्मरमा पहिरोले घर पुरिँदा ५९ वर्षीय मनबहादुर रोकाको मृत्यु भएको थियो।
विगत केही दिनदेखिको वर्षाका कारण बाढी र पहिरोले तनहुँमा २४ घरमा क्षति पुगेको छ। जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक द्वारिकाप्रसाद घिमिरेका अनुसार व्यास नगरपालिकामा ५, म्याग्दे गाउँपालिकामा २, घिरिङ गाउँपालिकामा ६, ऋषिङ गाउँपालिकामा २, बन्दीपुर गाउँपालिकामा ४ र भानु नगरपालिकामा ५ घरमा क्षति पुगेको छ।



