काठमाडौं। देशभर जारी अविरल वर्षासँगै आएको बाढी र पहिरोका कारण प्रमुख राजमार्ग तथा सडकहरु प्रभावित भएका छन्।
नेपाल प्रहरीले सार्वजनिक गरेको विवरणअनुसार केही सडक पुर्ण अबरुद्ध छन् भने केहीमा रात्रीकालिन सवारी आवागमनमा रोक लगाइएको छ।
प्रहरीका अनुसार ललितपुरको कान्तिलोकपथअन्तर्गत बागमती गाउँपालिका–३ भट्टेडाँडाको पाण्डुर र टाकुर्चे तथा गोदावरी नगरपालिका–६ बिखेन्धारामा पहिरो खसेपछि सडक पूर्ण रूपमा अवरुद्ध छ।
यसैगरी खोटाङ जिल्ला अन्तर्गत मध्य पहाडी लोकमार्ग सडक खण्ड पुर्न रुपमा अवरुद्ध भएको छ। याङवरक गाउपालीका २ दोभाने खोला स्थित मध्य पहाडी लोकमार्ग सडक खण्ड पुर्ण रुपमा अवरुद्ध भएको हो।
अरनिको राजमार्गअन्तर्गत धुलिखेल नगरपालिका–८ पकुचामा समेत पहिरोका कारण अवरुद्ध भएको सडक भने एकतर्फी सुचारु भएको छ।
यस्तै, धादिङको पृथ्वी राजमार्गअन्तर्गत बेनीघाट रोराङ गाउँपालिकाको कृष्णभीर, टिङराङखानी तथा जोगिमारा–मझिमटार मोडमा पहिरो खसेपछि अवरुद्ध भएको सडक खण्ड एकतर्फी सुचारु भएको छ।
चितवनको नारायणगढ–मुग्लिन सडकखण्डमा बाढी तथा पहिरोको सम्भावित जोखिमलाई मध्यनजर गर्दै अर्को सूचना जारी नभएसम्म सवारी आवागमनमा पूर्ण रोक लगाइएको छ।
पृथ्वी राजमार्गअन्तर्गत इच्छाकामना गाउँपालिका–४ धारापानीमा भने साना सवारी तथा मोटरसाइकललाई मात्र आवागमन गर्न दिइएको छ।
यसैगरी सोलुखुम्बु जिल्ला भित्र पर्ने सिद्धिचरण लोकमार्ग लगायत अन्य भित्री सडकहरू बाढी र पहिरोको उच्च जोखिमका कारण बन्द गरिएको छ। असोज ८ गते साँझ ६ बजेदेखि आगामी १२ गतेसम्म भारी वर्षाको पूर्वानुमान गरिएकाले बेलुकी ६ बजेदेखि बिहान ६ बजेसम्म अत्यावश्यक सवारी साधन र पैदल यात्री बाहेक अन्य सम्पूर्ण सवारी साधन र मानिसहरूको रात्रिकालीन आवागमनमा पूर्ण रूपमा रोक लगाइएको छ।
भोजपुर जिल्ला अन्तर्गत पर्ने मध्य पहाडी लोकमार्ग लगायत सम्पूर्ण भित्री सडकहरू सम्भावित क्षति रोकथामका लागि बन्द गरिएको छ।
इलाम जिल्लाका सम्पूर्ण सडकहरू सम्भावित बाढी र पहिरोको जोखिमका कारण बन्द गरिएको छ। मेची राजमार्ग, मेची कोरिडोर लगायतका सडकहरूमा रातिको समयमा सवारी आवागमनमा रोक लगाइएको छ।
खोटाङ जिल्ला अन्तर्गत मध्य पहाडी लोकमार्ग सम्भावित बाढी र पहिरोको जोखिमका कारण बन्द गरिएको छ। यसैगरी, हलेसी तुवाचुङ नपा १ कटुवा स्थित मध्य पहाडी सडक खण्डमा पहिरो गएका कारण सडक पूर्ण रूपमा अवरुद्ध छ।
उदयपुर जिल्लाको कटारी—घुर्मी (सिद्धिचरण लोकमाग)सम्भावित बाढी र पहिरोको जोखिमका कारण बन्द गरिएको छ।
पाँचथर जिल्लाको तुम्वेवा गा.पा. २ नावाखोलामा बाढी आएका कारण तमोर—कोरिडोर सडक खण्ड ८ गते बिहान ८ः५ बजेदेखि पूर्ण रूपमा अवरुद्ध भएको छ। यसैगरी, याङवरक गा.पा. २ दोभान खोला स्थित मध्य पहाडी लोकमार्गमा पहिरोका कारण पूर्ण रूपमा अवरुद्ध भएको छ।



